- सप्तरीको सुरुङ्गा नगरपालिकामा डकैती भएको थियो, जसमा एक व्यक्तिको मृत्यु भएको छ।
- डाँका समूहले घरमा लुटपाट गर्ने क्रममा धारिलो हतियार र गोली चलाउँदा घरधनीको मृत्यु भएको हो।
- घटनामा एक जना गम्भीर घाइते भएका छन् र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, साथै डाँकाहरूले सुन, चाँदी र नगद लुटेका छन्।
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा डकैतीपछिको धारिलो हतियारको प्रहार र गोली फायरिङका कारण एक जनाको मृत्यु भएको छ ।
सप्तरी प्रहरीका अनुसार आज राति १ बजे सुरुङ्गा नगरपालिकाको वडा नम्बर ८ स्थित कान्तलाल चौधरीको घरमा अपरिचित समूह लुटपाट गर्न आएको थियो । सोही क्रममा धनमाल चोरी गर्न नदिँदा अपरिचित डाँका समूहले प्रहार गरेको धारिलो हतियार र गोली फायरिङ्गका कारण घरधनी चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
सो क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन्। मृतकका चौधरीलार्इ बचाउन जाँदा छिमेकी रामाकान्त चौधरी घाइते भएका हुन्।
सप्तरी प्रहरीका अनुसार डकैत समूहद्वारा भएको धारिलो हतियारको प्रहार र गोली फायरिङ्गका कारण चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
डकैती समूहले घरबाट ५ तोला सुन, २ किलो चाँदी र केही नगदसमेत लुटेर लगेको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन्।
घाइते चौधरीको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हाल घटनाको थप अनुसन्धान जारी रहेको छ।




