हरियाली अभियानअन्तर्गत धोबीनि १ घोडदौरामा १,००० बिरुवा निःशुल्क वितरण
बिरगंज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नं. १, घोडदौरामा नयाँ कदम नेपालको अध्यक्षतामा तथा आदशक्ति सहकारी संस्थाको सहकार्यमा विभिन्न प्रजातिका १,००० बिरुवा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता नयाँ कदम नेपालका अध्यक्ष रणजीत पाण्डेयले गर्नुभएको थियो भने सहकार्य गर्ने संस्थाका अध्यक्ष श्याम बाबु साह रौनियारको विशेष सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत फलफूल, औषधीय तथा वातावरण संरक्षणका दृष्टिले महत्त्वपूर्ण विभिन्न प्रजातिका बिरुवा निःशुल्क वितरण गरिएको थियो। “एक घर, एक बिरुवा” अभियानलाई सफल बनाउन आयोजित यस कार्यक्रमले हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा आगामी पुस्ताका लागि स्वच्छ र हराभरा वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रणजीत पाण्डेयले वृक्षारोपणलाई अभियानका रूपमा अघि बढाउन सबैलाई आग्रह गर्दै वितरण गरिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्न अनुरोध गर्नुभयो। सहकार्यकर्ता अध्यक्ष श्याम बाबु साह रौनियारले यस्ता सामाजिक तथा वातावरणमैत्री कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीयवासीले कार्यक्रमको स्वागत गर्दै वातावरण संरक्षणका लागि यस्ता अभियानले सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्।







