वीरगञ्ज । पर्साको ग्रामीण क्षेत्र छिपहरमाई गाउँपालिका लागूऔषध ओसारपसार तथा भण्डारणको केन्द्र बन्दै गएको संकेत देखिन थालेको छ। पछिल्ला दिनमा यस क्षेत्रमा गाँजा बरामद हुने घटना दोहोरिन थालेसँगै स्थानीय क्षेत्रमा लागूऔषध कारोबारप्रति चिन्ता बढेको छ।
यसैक्रममा पर्साको छिपहरमाई गाउँपालिका–१, मिर्जापुरस्थित एक आँप बगैँचाबाट प्रहरीले १४० किलोग्राम गाँजा बरामद गरेको छ।
पर्सा प्रहरीका अनुसार विशेष सूचनाको आधारमा शनिबार राति करिब ९ः३० बजे इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल, नेपाल बीओपी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले उक्त आँप बगैँचामा खानतलासी गरेको थियो।
खोजतलासका क्रममा बगैँचामा घाँसभित्र लुकाइछिपाइ राखिएको १३ वटा पोकामा प्याक गरिएको गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल करिब १४० किलोग्राम रहेको छ।
बरामद गरिएको लागूऔषध नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। गाँजा कसले र कुन उद्देश्यले बगैँचामा लुकाएर राखेको थियो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जानकारी दिएको छ।






