अडियो परीक्षणबारे स्पष्टता आवश्यक ! विक हत्या प्रकरणमा विशेषज्ञलाई झिकाउन उच्च अदालतको आदेश

सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले मोबाइल अडियो परीक्षणमा संलग्न साइबर विशेषज्ञ आनन्द निरौलालाई उपस्थित गराउन आदेश दिएको छ ।

बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश नरिश्वर भण्डारी र जगदीश घिमिरेको संयुक्त इजलासले महत्वपूर्ण प्रमाणका रूपमा रहेको मोबाइल अडियो परीक्षणबारे स्पष्टता आवश्यक भएको निष्कर्ष निकाल्दै निरौलालाई बयानका लागि अदालतमा उपस्थित गराउन निर्देशन दिइएको छ ।

यसअघि पनि प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोबाट दुई विशेषज्ञ—आनन्द निरौला र दक्षेपी शेर्पालाई अदालतमा बोलाउने आदेश गरिएको थियो । तीमध्ये दक्षेपी शेर्पाले अदालतमा उपस्थित भई आफ्नो बयान दिएका थिए भने निरौला कोरियामा तालिममा रहेका कारण उपस्थित हुन सकेका थिएनन् ।

अदालतका उपरजिस्ट्रार सुशील यादवका अनुसार, असई थमन विकको हत्या प्रकरणमा संलग्न ठहर गरिएका व्यक्तिहरूको मोबाइलमा भेटिएको अडियो कल परीक्षणमा निरौला र शेर्पा दुबैको संलग्नता थियो । परीक्षणको प्रक्रिया, विश्लेषणको नतिजा र त्यसको प्रमाणिकता विषयमा थप प्रष्टिकरण आवश्यक देखिएकोले निरौलालाई पुनः बोलाइएको हो ।

२०७२ साल भदौ २५ गते, दोस्रो मधेश आन्दोलनका क्रममा महोत्तरी जिल्लामा भएको घटनामा एम्बुलेन्सबाट जबरजस्ती निकालेर थमन विकको निर्मम हत्या गरिएको थियो । उक्त घटनाले तत्कालीन राजनीतिक अवस्था र सुरक्षाकर्मीमाथिको आक्रमणबारे गम्भीर बहस र नीतिगत समीक्षा निम्त्याएको थियो ।

घटनासँग सम्बन्धित रूपमा २०७२ फागुन २७ गते २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा र २५ जनाविरुद्ध आगजनीको मुद्दा दर्ता गरिएको थियो । प्रकरणमा मधेश प्रदेशका तत्कालीन प्रदेश सांसद (दोस्रो कार्यकाल) अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वमेयर रामशंकर मिश्र, सुरेश पाण्डे र धमेन्द्र रायसहितका राजनीतिक तथा सामाजिक व्यक्तिहरू प्रतिवादीका रूपमा रहेका छन् । महोत्तरी जिल्ला अदालतले सो मुद्दामा २०८० मंसिर २८ गते फैसला सुनाएको थियो । उक्त फैसलामा नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिइएको थियो भने अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाइएको थियो ।

अदालतको फैसलापछि प्रदेश सभा सचिवालयले शर्मालाई पदमुक्त नगरे पनि उनलाई २०८० साल वैशाख १८ गतेदेखि निलम्बनमा राखेको थियो । शर्मा र अन्य प्रतिवादीहरूले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावलोकनको माग गर्दै अपिल दर्ता गराएका थिए । हाल उच्च अदालत जनकपुरमा उक्त मुद्दा पुनरावलोकनको चरणमा रहेको छ ।

यस क्रममा साइबर प्रमाण र अडियो विश्लेषणको महत्व झनै बढेको देखिएको छ । जन्मकैद तथा २० वर्ष वा २० वर्षभन्दा माथिको सजाय पाएको मुद्दामा साधक सुनवाई गर्ने कानुनी प्रावधान रहेको छ । बिक हत्या प्रकरणमा साधक बहस हुने भएपछि जन्मकैदको सजाएका पाएका परिवारजनहरुले न्याय प्रशासन ऐन २०७३को दाफा १०(४) बमोजिम उच्च अदालतमा निवेदन दिएका थिए । अभिराम शर्मा त्यसबेला दोस्रो कार्यकालका प्रदेश सांसद थिए ।

अदालतको फैसलापछि प्रदेशसभाले उनलाई २०८० वैशाख १८ गतेदेखि निलम्बन गरेको थियो । मुद्दाको जटिलता, राजनीतिक संवेदनशीलता र प्रमाणको विश्लेषणलाई ध्यानमा राख्दै अदालतले निष्कर्ष निकाल्न अझै केही चरण पार गर्न बाँकी रहेको देखिन्छ । साइबर परीक्षणमा संलग्न विशेषज्ञहरूको पुनः बयानले निष्पक्ष न्यायको प्रक्रियामा मद्दत पुग्ने विश्वास गरिएको छ ।

अदालतले प्रमाणको वैज्ञानिक विश्लेषणमा जोड दिँदै निष्पक्ष र न्यायपूर्ण फैसलातर्फ अघि बढ्न खोजिरहेको संकेत यो आदेशले दिएको छ । थमन विक हत्या प्रकरण नेपाली न्याय प्रणालीमा गम्भीर मानिएको मुद्दा हो, जसमा राज्यका सुरक्षाकर्मीमाथिको हिंसा र त्यसको राजनीतिक परिवेशसहितको विश्लेषण आवश्यक रहेको बताइन्छ । उच्च अदालतको समीक्षा प्रक्रियामा हुने निर्णयले भविष्यमा यस्ता मुद्दाको कानुनी दृष्टिकोण र राजनीतिक प्रभावसमेत निर्धारण गर्नेछ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः