चैतमा १० वटा मोटरसाइकल चोरी : २ जना पक्राउ, ६ वटा भेटियो

विराटनगरमा एउटै गिरोहले निरन्तर मोटरसाइकल चोरी गरिरहेको पत्ता लागेको छ। विराटनगरका विभिन्न स्थानबाट दिनमा २ वटासम्म मोटरसाइकल चोरी हुने गरेको थियो।

पछिल्लो ८ दिनमा ८ वटा नै चोरी भएको थियो। चैत १९ गतेदेखि भइरहेको मोटरसाइकल चोरीमा एउटै गिरोहको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कोशी अस्पताललगायत विराटनगरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी हुने क्रम बढ्यो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार चैत लागेपछि नै १० वटा मोटसाइकल चोरी भइसकेका छन्।

मोटरसाइकल चोरी तीव्र हुन थालेपछि मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले विशेष ‘अप्रेशन’ चलाए। सक्रियता बढाएको प्रहरी अन्ततः गिरोहसम्म पुग्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनाल र इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको संयुक्त टोलीले गिरोहका २ जनालाई पक्राउ गरेको छ।

२ जनालाई पक्राउ गर्दा चोरी भएकामध्ये ६ वटा मोटरसाइकल भेटिएको डीएसपी जोशीले बताए।

उनका अनुसार मोटरसाइकल चोरी गरेर सिमावर्ती भारतीय बजार जोगवनीको टिकुलिया बस्तीमा लगेर बिक्री गर्ने गरेको पत्ता लागेको छ। मंगलबार पक्राउ परेका २ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ। मोटरसाइकल चोरीमा संलग्न विराटनगर महानगरपालिका–१७ का २४ वर्षीय नौसाद अन्सारी र १७ वर्षीय बालकलाई पक्राउ गरिएको जानकारी जोशीले दिए।

उनका अनुसार पछिल्लो ६-७ दिनदेखि लगातार मोटरसाइकल चोरीको घटना बढेपछि विशेष निगरानी गर्ने क्रममा दुवै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो। विराटनगर क्षेत्रका अस्पताल, पार्किङ स्थल, होटलको पार्किङ, अदालत, मालपोत कार्यालयलगायत भिडभाड हुने स्थानबाट मोटरसाइकल चोरी धेरै भएको डीएसपी जोशीले बताए।

गत मंसिर महिना अघिसम्म विराटनगरमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय थियो। ‘मोटरसाइकल चोरी गर्ने गिरोहका नाइके सुनसरीका नजाम अन्सारी मंसिरमा पक्राउ परे। पक्राउ गरेर अन्सारीलाई कानुनी कारबाहीको दायरामा ल्याइएपछि चोरीका घटनामा कमी आएको थियो,’ डीएसपी जोशीले भने, ‘अन्सारीले यहाँ मोटरसाइकल चोरी गर्ने र भारतमा लगेर बिक्री गर्नुका साथै केही पीडितहरुको नम्बर पत्ता लगाएर सम्पर्क गरी मोटरसाइकलको फिरौती रकम माग्ने गरेका थिए। मागेअनुसारको रकम दिएपछि मोटरसाइकल फिर्तासमेत गर्ने गरेको पाइयो।’ अन्सारी चोरी तथा आपराधिक मुद्दामा कारागार चलान भएका छन्।

त्यसपछि केही महिना मोटरसाइकल चोरी रोकियो। एक्कासि चैतमा चोरी बढ्यो। चैत २६ गते मंगलबार विराटनगर–७ स्थित अस्पताल चोकको एउटा कपडा पसलअगाडि पार्किङ गरिएको मोरङ कटहरी–१ का दुलाचन्द पोद्दारको नाममा दर्ता भएको प्र.१–०२–०४१ प ३४० नम्बरको मोटरसाइकल चोरेर लैजाँदै गर्दा २ जना पक्राउ परेको जानकारी जोशीले दिए।

उनीहरु पक्राउ परेपछि ६ वटा मोटरसाइकल फेला परेको छ। चोरीका मोटरसाइकल विराटनगर–१५ र सिमावर्ती भारतको टिकुलियाबाट बरामद भएको जोशीले बताए। उनका अनुसार पक्राउ परेकाहरुले निरन्तर मोटरसाइकल चोरी गरेर भारत पुर्याइ बिक्री गर्ने गरेको पाइयो।

अपराधिक पृष्ठभूमिका व्यक्तिहरू मोटरसाइकल चोरीमा संलग्न रहेको र पक्राउ गरेर चोरी तथा आपराधिक लाभ मुद्दा चलाउन बुधवार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए। उनका अनुसार मोटरसाइकल चोरी गर्ने गिरोहमा अरु पनि व्यक्तिहरू संलग्न हुन सक्छन्।

‘लगातार मोटरसाइकल चोरी गर्ने गिरोहमा अरुको पनि संलग्नता हुनसक्छ। खोजी गर्दै विशेष ढंगले अनुसन्धान अघि बढाइएको छ,’ चिमरियाले भने, ‘पछिल्लो समय मोटरसाइकल चोरी रोक्न विशेष कारबाही चलाइएको छ। चोरी गरेर तत्काल सीमा कटाउने गरिएका कारण निगरानी बढाउँदै नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्न थालिएको छ।’

गत साउनदेखि मंसिरसम्ममा विराटनगरबाट ६० वटा मोटरसाइकल चोरी भएका थिए। तीमध्ये ४ वटा फेला परेका छन्। अरु मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ। फागुनमा एउटा मोटरसाइकल चोरी भएको थियो। तर, चैतमा मात्रै १० वटा मोटरसाइकल चोरिए।

एसपी चिमरियाका अनुसार चोरीमा संलग्न सीटी सफारी चढेर पुग्ने र मोटरसाइकल चोरेर भारततिर भाग्ने गरेको पाइएको छ। ‘चोरीको गिरोहको वतन नेपाल हो। तर, भारतीय भूमिमा बसोबास गरेर चोरी धन्दा चलाउने गरेको पाइयो। प्राय मध्यान्ह १२ बजेदेखि साँझको समयमा चोरी धेरै हुने गरेको पत्ता लाग्यो,’ उनले भने, ‘पुराना सुपरस्प्लेन्डर, होण्डा साइन, डिस्कभरजस्ता मोटरसाइकल चोरी धेरै भएका छन्। चोरीमा ‘मास्टर की’को प्रयोग गर्ने गरेको पत्ता लाग्यो। चोरी गरेपछि भारतीय भूमिका लागेर सस्तोमा बिक्री गर्दा रहेछन्।’

चोरी भएकामध्ये प्रहरीले प्रदेश १–०२ –०४१ प ३४०, को ३ प ९७९५, ज ३ प ७४९८, मे ५ प ६६९२ तथा २ वटा नम्बर नखुलेका मोटरसाइकल बरामद गरेको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः