
चैत १९ गते । नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ बढी देशका राजदूत इलामको अन्तु आउने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत अन्तु आउने भएको हो ।
मन्त्रालयले वार्षिक रूपमा विभिन्न देशका नेपालमा रहनु भएका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गराइने कार्यक्रम अनुसार यस पटक सूर्योदय नगरपालिकाको अन्तुमा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो।
कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा , मन्त्रालयका सचिव सहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी , राजदूत सहित ४५ जना बढी उच्च तहका पदाधिकारीको सहभागिता रहने छ ।
कार्यक्रम अनुसार चैत्र ३१ गते उक्त टोली कन्याम आई पुग्ने छ । कन्याममा नगरले स्वागत गरी चिया टेष्टिङ सेन्टरमा विभिन्न चियाको स्वाद चखाउने कार्यक्रम तय गरेको छ । उक्त अवसरमा दूधको परिकार चिजको समेत स्वाद चखाइने छ । नगर प्रमुख राईका अनुसार कन्यामा सबै देशका राजदूत सहितको टोलीलाई विभिन्न जातजातिको पोसाकमा सजाएर घोडचढी गर्ने, चिया बगान घुमाउने कार्यक्रम रहेको छ ।
३१ गते अन्तुमा रात्रिकालीन स्वागत गरी वैशाख १ गते नयाँ वर्षको अवसरमा सबै राजदूतलाई सूर्योदयको दृश्यावलोकन गराइने नगर प्रमुख राईले जानकारी दिनु भयो । उहाँले भन्नु भयो‘यति धेरै देशका राजदूत हाम्रो पालिकामा आउँदै गर्दा यो पालिकालाई आगामी दिनमा विश्वले चिन्ने अपेक्षा सहित कार्यक्रमको तयारी भइरहेको छ । चिया बगान घुम्ने, अन्तु पोखरीमा डुङ्गा सयर आदि कार्यक्रम नगरे तय गरेको छ ।
नगरले राजदूत सहितको टोली आउने भए पछि अहिले नगर उप प्रमुख दुर्गा कुमार बरालको संयोजकत्वमा मूल समारोह समिति गठन गरी विभिन्न उप समिति बनाएर स्वागत सत्कारका लागि तयारी थालेको छ । नगरले विभिन्न जातजातिको झाकी सहित पाहुनालाई स्वागत गर्ने , स्थानीय खानाका परिकारको व्यवस्था गर्ने, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने र स्थानीय पर्यटकीय क्षेत्रको सरसफाइ गर्ने काम गरी रहेको छ ।
नगरका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले मन्त्रालयले बर्सेनि गर्ने कार्यक्रम भएकाले अन्तुमा पनि अनौपचारिक कार्यक्रम मात्र हुने जानकारी दिनु भयो । उहाँका अनुसार हाल सम्म २७ देशका राजदूत अन्तु आउने निश्चित भैसकेको छ । उक्त टोली वैशाख १ गते अन्तुमै बसेर २ गते फर्कने कार्यक्रम रहेको छ ।
स्वदेशी तथा विदेशी पर्यटकको बाह्रै महिना भिड लाग्ने अन्तु र कन्याममा राजदूतको भ्रमणले थप प्रचार हुने नगर उप प्रमुख दुर्गा कुमार बरालले जानकारी दिनु भयो ।




