वीरगंज भन्सारबाट निस्किएका माछाका तीन पिकअप जितपुर र अमलेखगञ्जमा पक्राउ, बिल–भाउचरमै कैफियत भेटियो

spot_img

वीरगंज भन्सार कार्यालयबाट माछा बोकेर बाहिरिएका पाँचवटा पिकअपमध्ये तीनवटा पिकअप बारा जिल्लाको जितपुर र अमलेखगञ्जबाट नियन्त्रणमा लिइएका छन् । माछाको नापतौल तथा बिल–भाउचर जाँच गर्दा परिमाणमा कैफियत भेटिएपछि भन्सारको निगरानी र सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।

विशेष सूचनाका आधारमा दुईवटा पिकअप जितपुरबाट र एउटा अमलेखगञ्जबाट नियन्त्रणमा लिइएको हो । माछासहित नियन्त्रणमा लिइएका तीनवटै पिकअपलाई थप अनुसन्धान तथा जाँचका लागि वीरगञ्ज भन्सार कार्यालय ल्याइएको थियो ।

भन्सार कार्यालयमा गरिएको नापतौल तथा बिल–भाउचर मिलानका क्रममा १ सय ५० कार्टुन माछामा प्रतिकार्टुन एक किलोका दरले परिमाण फरक भेटिएको भन्सारका एक अधिकृतले जानकारी दिएका छन् । यससँगै बिल–भाउचरमा उल्लेख गरिएको विवरण र गाडीमा वास्तविक रूपमा रहेको माछाको परिमाणबीच अन्तर देखिएको छ ।

भन्सार कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी बाहिरिएका मालवाहक सवारीसाधन केही दूरी पार गरेपछि नियन्त्रणमा पर्नु र पुनः जाँच गर्दा परिमाणमा कैफियत भेटिनुले भन्सारको जाँच तथा निगरानी प्रणालीमाथि प्रश्न खडा गरेको छ ।

विशेषगरी भन्सारबाट बाहिरिएका पाँचवटा पिकअपमध्ये तीनवटा मात्रै नियन्त्रणमा पर्नु र बाँकी दुईवटा गाडीको अवस्था के छ भन्ने विषय पनि चासोको विषय बनेको छ । भन्सार कर्मचारी तथा सशस्त्र प्रहरीको उपस्थितिमा कागजात र सामानको जाँच प्रक्रिया पूरा गरेर गाडी बाहिरिएका भए पनि वास्तविक परिमाणमा फरक देखिनुले जाँच प्रक्रियामा कमजोरी भएको आशंका गरिएको छ।

घटनापछि वीरगंज भन्सार कार्यालय परिसरमा माछा व्यापारीहरूको भीड लागेको थियो । माछाको नापतौल तथा बिल–भाउचर मिलान भइरहँदा व्यापारीहरूले घटनाबारे चासो देखाएका थिए ।

भन्सारबाट सामान बाहिरिँदा कागजातमा उल्लेखित विवरण र वास्तविक सामानको परिमाणबीच किन फरक देखियो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने देखिएको छ । घटनाबारे थप अनुसन्धान र जाँचको विवरण भने सार्वजनिक हुन बाँकी छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः