पोखरामा अब नियमित अन्तर्राष्ट्रिय उडान

  • हिमालय एयरलाइन्सले सुरु गर्‍यो ल्हासा–पोखरा ‘सेड्युल’ उडान, निरन्तरतामा चुनौती
  • यसअघि चीन, भारत र भुटानमा अन्तर्राष्ट्रिय ‘चार्टर’ उडान भएको थियो, पछिल्लोपल्ट चीनको सिचुवान एयरलाइन्सले छेङ्दु–पोखरा व्यावसायिक चार्टर उडान गरिरहेको छ

पोखरा — विमानस्थल सञ्चालनमा आएको २६ महिनापछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । हिमालय एयरलाइन्सले सोमबारदेखि ल्हासा–पोखरा–ल्हासा ‘सेड्युल’ उडान सेवा सुरु गरेको हो । यस्तो उडान सातामा एकपल्ट हुनेछ ।

यसअघि चीन, भारत र भुटानमा अन्तर्राष्ट्रिय ‘चार्टर’ उडान भएको थियो । पछिल्लोपल्ट चीनको सिचुवान एयरलाइन्सले छेङ्दु–पोखरा व्यावसायिक चार्टर उडान गरिरहेको छ । हिमालयको जहाज ल्हासाको गोंगर विमानस्थलबाट सोमबार चीनको स्थानीय समयअनुसार दिउँसो २ः३९ बजे उडान भरेर एक घण्टा ३४ मिनेटको उडान समय पछि १ सय ७ यात्रुसहित नेपाली समयअनुसार १ः५६ मा पोखरा अवतरण गर्‍यो । पोखरा आएका यात्रुमध्ये ३२ चिनियाँ र ७५ नेपाली नागरिक हुन् ।

पहिलो उडानमा आएका यात्रुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, पोखरा महानगर प्रमुख धनराज आचार्य, नेपालका लागि चिनियाँ राजदूत छन सोङ र हिमालय एयरलाइन्सका पदाधिकारीले स्वागत गरे । उक्त जहाज सोमबार पोखरामै बास बसेर मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ः२० मा प्रस्थान गरी चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासामा अवतरण गर्नेछ । यही तालिकाअनुसार हरेक साता उडान हुनेछ । एयरलाइन्सले काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सेक्टर जोड्ने तथा मागका आधारमा आगामी दिनमा उडान पनि थप्ने योजनासहित हाल सातामा एउटा उडान सञ्चालन गरेको हो ।

ल्हासा–पोखरा–ल्हासा उडान सेवाको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा ‘कनेक्टिभिटी’ को भूमिकामा जोड दिए । पोखरालाई गन्तव्यका रूपमा रोजेकामा हिमालय एयरलाइन्सको प्रशंसा गर्दै उनले नियमित उडानले निरन्तरता पाउनेमा चुनौती रहेको स्विकारे । ‘चुनौती बाँकी रहे पनि सरकारी सहयोगले त्यस्तो चुनौतीको सम्बोधन गर्न सकिन्छ,’ उनले भने, ‘गण्डकी सरकार पोखरामा हिमालय एयरलाइन्सको सञ्चालनलाई सहजीकरण र विस्तार गर्न प्रतिबद्ध छ ।’ ल्हासा पुग्ने अन्य देशका पर्यटकलाई पनि पोखरा ल्याउन एयरलाइन्सले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

आगामी दिनमा एयरलाइन्सले पोखरामा हुने उडान तालिकालाई विस्तार गर्ने पर्यटन राज्यमन्त्री चौधरीले विश्वास व्यक्त गरे । यसअघि अन्तर्राष्ट्रिय चार्टर उडान मात्रै भएकामा यसपल्ट नियमित व्यावसायिक उडान सुरु भएको भन्दै नेपालका लागि चिनियाँ राजदूत छन सोङले खुसी व्यक्त गरे । ‘आफ्नो सहरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पोखरावासीको सपना दुई वर्षअघि पूरा भएको थियो,’ उनले भने, ‘अब नियमित अन्तर्राष्ट्रिय उडान होस् भन्ने पोखरावासीको सपनाले मूर्त रूप पाएको छ ।’

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः