३८ लाखको भ्रष्टाचार आरोपमा मुद्दा दायर

बारा । साविक भवानीपुर जीतपुर गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका) का तत्कालीन सचिव आसमहमद अन्सारीमाथि ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्ति अनुसार, जीतपुरको गुदरी बजार र मिना बजारका सटर उपभोक्तालाई भाडामा लगाउँदा अन्सारीले अपनाएको विधि पारदर्शी नभएको र सरकारी कागजात नष्ट गरी धरौटीबापतको रकम हिनामिना गरेको ठहर भएको छ।

सचिव अन्सारीले एक सय २१ जना उपभोक्तासँग धरौटीबापत लिएको रु. ३८,३०,५०० गाविसको धरौटी खातामा जम्मा गर्नु पर्नेमा उक्त रकम खातामा जम्मा नगरी हिनामिना गरेको अख्तियारले जनाएको छ। बदनियतपूर्वक आर्थिक अनियमितता गरेको पुष्टि भएपछि अन्सारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएको हो।

अन्सारीले गाविस सचिवका रूपमा कार्यरत रहँदा गुदरी बजार र मिना बजारका सटरहरू भाडामा लगाउँदा कानुनी प्रक्रिया उल्लङ्घन गरेको, सरकारी कागजात नष्ट गरेको, र उपभोक्ताबाट संकलित रकम हिनामिना गरेको आरोप छ।

अख्तियारले विशेष अदालतमा दायर मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम अन्सारीलाई रकम असुलउपर, कैद सजाय, र जरिवाना माग गरेको छ।

आसमहमद अन्सारी २०५४ सालदेखि भवानीपुर जीतपुर गाविसमा कार्यरत थिए। त्यहाँबाट सरुवा भई उनले निजगढ र रतनपुर गाविस सचिवका रूपमा झण्डै पाँच वर्षसम्म सेवा गरेका थिए।

अख्तियारले भ्रष्टाचारजस्ता गम्भीर मुद्दामा दोषी व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउनका लागि कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ। यस प्रकरणले स्थानीय प्रशासनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न गरिएका प्रयासहरूलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः