पर्यटकलाई सहज बनाउन चेक प्वाइन्ट’ स्थापना गर्ने तयारी

वीरगञ्ज । नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई सहरको सुरक्षात्मक चेकजाँच प्रक्रियामा सजिलो बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायका अधिकारीहरूले ‘एकीकृत चेक प्वाइन्ट’ स्थापना गर्ने योजना अघि सारेका छन् ।

वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकले विभिन्न स्थानमा बारम्बार सुरक्षात्मक जाँचको सामना गर्नुपरेको हुन्छ । पर्यटकहरूलाई शङ्कराचार्य प्रवेशद्वार, भन्सार गेट, रजत जयन्ती चोक, इनर्वा चोक, नगवा चोक र नयाँ बसपार्क चोकलगायत करिब दुई किलोमिटरको दुरीभित्रै ६ स्थानमा सुरक्षा जाँच हुँदा पर्यटकहरूलाई हैरानी र असुविधा भोग्नु पर्छ ।

बुधवार वीरगञ्जमा होटेल तथा पर्यटन व्यवसायी सङ्घको आयोजनामा भएको कार्यक्रममा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पटक-पटकको चेकजाँच समस्याको समाधान गर्न एकीकृत चेक प्वाइन्ट स्थापनाको गर्ने आफ्नो योजनाको बारेमा सुनाए । अर्यालले भने, “भारतीय पर्यटकहरू शङ्कराचार्य प्रवेशद्वारबाट नेपाल छिर्दा उनीहरूको यात्रा रमाइलो र आरामदायक हुने अपेक्षा हुन्छ । तर बारम्बार चेकजाँच र असहज व्यवहारका कारण उनीहरूले नेपालप्रति नकारात्मक धारणा बनाउन सक्ने खतरा छ ।”

उनका अनुसार प्रस्तावित एकीकृत चेक प्वाइन्टमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले सामूहिक रूपमा जाँच गर्नेछन् । चेकजाँच पूरा भएपछि तीनै निकायका अधिकृतहरूले हस्ताक्षर गरिएको पहेँलो कार्ड पर्यटकलाई प्रदान गरिनेछ । कार्डले पर्सा, बारा र मकवानपुर जिल्लाको बिचमा कुनै पनि चेकजाँच नगरी गन्तव्यमा पुग्न सहजता दिनेछ ।

पर्सा, बारा, र मकवानपुर जिल्लामा हाल भइरहेका बिना कारण बारम्बार चेकजाँच हटाएर शङ्कराचार्य प्रवेशद्वार र मकवानपुरको अन्तिम सीमा बिन्दुमा मात्रै चेकजाँच गर्ने व्यवस्था गरिने अर्यालले बताए ।

उनले भने, “तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरी समन्वयको काम भइरहेको छ । जति सक्दो छिटो यो व्यवस्था लागू गर्ने लक्ष्य राखिएको छ ।”

भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा भारु २५ हजारभन्दा बढी रकम ल्याउन नपाउने प्रावधानले थप कठिनाइ भएकोमा पनि उनले चासो व्यक्त गरे । “यो कानुनी जटिलता भए पनि व्यवहारिक समाधानका लागि सुरक्षा निकायका प्रमुखहरूसँग समन्वय भइरहेको छ,” अर्यालले थपे ।

कार्यक्रममा होटेल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्तले भारतीय पर्यटकलाई सहज र स्वागतयोग्य वातावरण बनाउन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा सुरक्षाकर्मी, पत्रकार र पर्यटन व्यवसायीहरूको उल्लेखनीय उपस्थिति थियो ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः