काँग्रेस सभापति गगन थापालाई पक्राउ गर्ने तयारी भइरहेको चर्चा, पार्टीले भन्यो– ‘चुप लागेर बस्दैनौँ’

spot_img

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापालाई सरकारले पक्राउ गर्ने तयारी गरिरहेको चर्चा सार्वजनिक भएपछि नेपाली राजनीति तरङ्गित बनेको छ । थापामाथि सरकारले निगरानी बढाएको र केही दिनभित्रै पक्राउ गर्न सक्ने आशङ्काबिच काँग्रेसका नेताहरूले सरकारलाई कडा चेतावनी दिएका छन् ।

काँग्रेस महामन्त्री उदय शमशेर राणाले सभापति थापालाई पक्राउ गर्ने वा उनीविरुद्ध प्रतिशोधपूर्ण कदम चाल्ने प्रयास भए पार्टी चुप लागेर नबस्ने बताएका छन् ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा आयोजना गरेको सरसफाइ तथा फूल रोप्ने कार्यक्रमका क्रममा आयोजित कार्यक्रममा बोल्दै राणाले बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे ।

सभापति गगनकुमार थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने काँग्रेस टुलुटुलु हेरेर बस्दैन,’ राणाले भने, ‘त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौँ ।’

पछिल्लो समय काँग्रेसको आधिकारिकतासम्बन्धी विवादमा थापाको नाम जोडेर सार्वजनिक भएका आरोप र अडिओका कारण उनीमाथि पक्राउको जोखिम रहेको चर्चा भइरहेको छ । बिचौलिया इनाम सापकोटासँगको सम्बन्ध र काँग्रेसको आधिकारिकता आफ्नो पक्षमा पार्न १८ करोड रुपैयाँ खर्च गरिएको भनिएको अडियो सार्वजनिक भएपछि यो विषय थप चर्चामा आएको हो ।

सामाजिक अभियन्ता दुर्गा प्रसाईँले पनि यसअघि काँग्रेसको आधिकारिकता प्राप्त गर्न थापाले ५२ करोड रुपैयाँ खर्च गरेको आरोप लगाएका थिए । काँग्रेसले भने यस्ता आरोपलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै आएको छ। सार्वजनिक अडियो तथा आरोपहरूको स्वतन्त्र पुष्टि भने भएको छैन ।

सभापति थापाको सचिवालयले सरकारले उनीमाथि निगरानी बढाएको दाबी गरेको छ । थापाका गतिविधिमाथि निगरानी गर्न डिएसपीको नेतृत्वमा प्रहरी टोली नै परिचालन गरिएको सचिवालयको भनाइ छ । सरकारले तिहारअघि नै थापासहित काँग्रेसका केही नेताहरूलाई पक्राउ गर्ने तयारी गरेको चर्चा पनि राजनीतिक वृत्तमा भइरहेको छ । यद्यपि, पक्राउ गर्ने तयारीबारे सरकार वा प्रहरी प्रशासनले औपचारिक पुष्टि गरेको छैन ।

यसैबिच, महामन्त्री राणाले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई गैरकानुनी रूपमा व्यक्तिहरूलाई पक्राउ गर्न दबाब दिइएको र त्यसलाई अस्वीकार गरेपछि पदबाट हटाइएको आरोपसमेत लगाए ।

उनले आइजिपी कार्कीले गैरकानुनी गिरफ्तारी गर्न नमानेपछि सरकारले उनलाई हटाएको दाबी गर्दै सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजिएको बताए ।

सरकारले सञ्चार क्षेत्रमाथि दबाब र हस्तक्षेप बढाएको, सञ्चारकर्मीलाई पक्राउ गरिएको तथा न्यायालय र निजामती प्रशासनमाथि समेत हस्तक्षेप भइरहेको आरोप पनि राणाले लगाए । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै उनले लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारको रक्षाका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताए ।

यसअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत ‘एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए। त्यसको भोलिपल्ट थापाले ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’ भन्दै सामाजिक सञ्जालबाट जवाफ दिएका थिए ।

त्यसपछि थापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका थिए । ओली र थापाबिच करिब एक घण्टा छलफल भएको थियो । भेटमा मधेस प्रदेश सरकारलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

सभापति थापा पक्राउ पर्न सक्ने चर्चासँगै काँग्रेसले आफ्नो आन्तरिक रणनीति बनाउन थालेको छ । पार्टीले बिहीबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठकसमेत बोलाएको छ ।

सहमहामन्त्री रामहरि खतिवडाका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका पछिल्ला कदम तथा न्यायपालिका, प्रहरी प्रशासन र निजामती कर्मचारीमाथि भइरहेको भनिएको हस्तक्षेपका विषयमा छलफल हुनेछ ।

काँग्रेसले पार्टी र नेतृत्वविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने बताउँदै आएको छ । सभापति थापामाथि कुनै पनि प्रतिशोधपूर्ण कदम चालिए त्यसको राजनीतिक प्रतिवाद गर्ने नेताहरूले चेतावनी दिएका छन् ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः