मुस्ताङमै रोकिए तीन हजारभन्दा बढी ईभी

spot_img

क्तिनाथ (मुस्ताङ), कात्तिक १० गते । चाडपर्वमा बुकिङ भएका चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) लामो समयदेखि कोरला नाका, भन्सार र सडकखण्डका विभिन्न स्थानमा होल्ड भएका छन् ।

चीनको तिब्बत हुदै लिजी–नेचुङ (कोरला) नाकाबाट भित्रिएको ३ हजार १२२ ईभी मुस्ताङमै होल्ड भएका छन् भने केही पोखरा–बेनी–जोमसोम सडकखण्डमा अलपत्र अवस्थामा छन् । बाढीपहिरो र नदी कटानले बेनी–जोमसोम–कोरला सडक क्षतिग्रस्त भएपछि हिलाम्मे सडकका कारण फसेका, दुर्घटनामा परेकालाई ट्राफिक कार्यालयले डोजरको प्रयोग गरी हटाउन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कोरला नाकाको दशगजा क्षेत्रमा २ हजार ८२८ वटा, भन्सार कार्यालयको ¥याडमा १२० वटा, चराङको चार्जिङ स्टेशनमा ७५ वटा, छोसेरमा निजी जग्गामा ४५ वटा, घाँसामा चालक नभएका कारण २३ वटा, जोमसोम बसपार्कमा १९ वटा होल्डमा रहेका छन् ।

प्रहरी निरीक्षक बस्यालले भन्नुभयो, ‘‘लामो समयसम्म सडकमा रोकिएकालाई हटाउन ताकेता गरेका छौ, चार्जिङको समस्या रहेको बुझिएको छ ।’’ कोरला–जोमसोम सडकखण्ड अन्तरगत विभिन्न स्थानमा करिब ३० भन्दा बढी ईभी सडकमै अलपत्र अवस्थामा समेत छन् ।

मौसम सफा रहेको र सडक आवागमन सुचारु रहेको अवस्थामा पनि लामो समयसम्म होल्डमा रहेका सवारीसाधनको अवस्थाबारे सम्बन्धित निकायले भने कुनै जानकारी दिएका छैनन् ।

उपल्लो मुस्ताङमा लो–ध्याकर दामोदर कुण्ड गाउँपालिका–१, चराङमा चार्जिङ स्टेशन रहेको तथा अन्य स्थानमा थप आवश्यकता भएपनि हालसम्म जडान नहुदाँ चिनियाँ ईभीलाई जाँचपासपछि पनि लामो समयसम्म रोकिनुपर्ने अवस्था रहेको भन्सार कार्यालय मुस्ताङले जनाएको छ । भन्सारको राजश्वको ठूलो हिस्सा समेत ईभी नै रहेको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चिनको सिमानामा रहेको कोरला नाका जोड्ने २०२ किलोमिटर दूरी रहेको छ ।

समुन्द्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा ल्याएर जाँचपासपछि १ सय ८६ किलोमिटर दूरीको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकखण्ड हुँदै पोखरा लैजाने क्रममा सडकमा रहेको हिलोका कारण इभीमा समेत क्षति हुने गरेको कोरला नाका कन्टेनर ब्यवस्थापन समितिका उपाध्यक्ष घरचुङ गुरूङले बताउनुभयो ।

तिहारअघि कोरलाबाट जाँचपास भएका सबै ईभी जिल्ला बाहिर लैजाने गरी चालकको समेत तयारी गरिएको छ । नेपालका ईभी बिक्रेताहरूको भन्सार प्रतिनिधिले समेत रोकिएका ईभी पठाउने तयारी भइरहेको जनाएका छन् ।

कालिगण्डकी सडक आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार हाल सडकखण्डबाट दैनिक साना सवारीसाधन आवतजावतमा कुनै समस्या नभएको बताउनुभयो ।

हाल चाडपर्व लक्षित भन्सारका सामान बोकेका कन्टेनर, स्याउसहित मुस्ताङमा रहेका सवारीसाधन दैनिक बाहिरिने गरेका छन् । मुस्ताङमा सोमबार साँझसम्म विभिन्न स्थानमा २७ वटा कन्टेनरसमेत होल्डमा रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः