कतारस्थित कम्पनीबाट ठगिएको आरोप, रोजगारीका लागि आर्मेनिया पुगेका चार नेपाली अलपत्र

spot_img

वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौँ रुपैयाँ असुली गरेको आरोपमा कतारस्थित एक कम्पनी विवादमा परेको छ। ‘एक्सपर्ट ग्रुप’ नामक कम्पनीले सम्झौताअनुसारको काम उपलब्ध नगराएपछि रोजगारीका लागि आर्मेनिया पुगेका चार जना नेपाली अहिले अलपत्र परेका छन्। उनीहरूले उद्धारका लागि नेपाल सरकारसँग हारगुहार गरेका छन्।

अलपत्र पर्नेहरूमा सल्यानको वनघाट कोविण्डे नगरपालिका–१२ का २९ वर्षीय खुमबहादुर मगर, नवलपरासीको बर्दघाट नगरपालिका–१६ का प्रेमकुमार सुनार, मोरङको मिक्लाजुङ नगरपालिका–८ का पद्म महत र सङ्खुवासभाको अरुण गाउँपालिका–३ का उदय कार्की रहेका छन्।

पीडितहरूका अनुसार कतारस्थित एक्सपर्ट ग्रुपले फ्याक्ट्रीमा प्याकेजिङ वर्करको काम दिलाउने आश्वासन दिएर उनीहरूबाट ठूलो रकम असुल गरेको थियो। दुई जनाबाट जनही ४ लाख ६२ हजार रुपैयाँ र बाँकी दुई जनाबाट जनही ४ लाख ८३ हजार रुपैयाँ लिइएको उनीहरूको दाबी छ।

तर, विदेश पुगेपछि सम्झौताअनुसारको काम नपाएको उनीहरूको गुनासो छ। फ्याक्ट्रीमा काम लगाउनुको सट्टा माछा फार्ममा पठाइएको र सम्झौताभन्दा फरक काम गर्न अस्वीकार गरेपछि उनीहरू कामविहीन हुन पुगेका हुन्।

गत अक्टोबर ४, २०२६ मा कतारबाट दुबई हुँदै आर्मेनियाको राजधानी एरेवन पुगेका चारै जना अहिले होटलमा कोठा भाडामा लिएर बसिरहेका छन्। उनीहरूको दैनिक खानपान र बसोबासमा प्रतिव्यक्ति करिब ४ हजार आर्मेनियन मुद्रा खर्च भइरहेको बताइएको छ। आफूसँग भएको पैसा सकिँदै गएपछि उनीहरू थप समस्यामा परेका छन्।

पीडित खुमबहादुर मगरले आफन्त तथा ह्वाट्सएपमार्फत परिवारलाई आफूहरू ठगीमा परेको जानकारी गराएका छन्। परिवारका अनुसार विदेश पठाउने नाममा लाखौँ रुपैयाँ बुझाउँदा पनि अहिले उनीहरू न रोजगारीमा छन्, न सुरक्षित रूपमा स्वदेश फर्किने अवस्था नै बनेको छ।

घटनामा परिवारजनले एक्सपर्ट ग्रुपका सञ्चालक तथा प्रतिनिधि भनिएकी भारतको बिहारस्थित पटना, गोविन्दगञ्जकी साक्षी कुमारीमाथि समेत अनुसन्धान गर्न माग गरेका छन्। परिवारको आरोपअनुसार उनले टिकटकमार्फत नेपाली तथा हिन्दी भाषामा भिडियो सार्वजनिक गर्दै वैदेशिक रोजगारीको खोजीमा रहेका युवालाई विभिन्न देशमा आकर्षक रोजगारीको अवसर रहेको भन्दै प्रलोभन दिने गरेकी थिइन्।

परिवारजनले साक्षी कुमारीका परिवारका केही सदस्य वीरगञ्जको जेलरोड क्षेत्रमा बसोबास गर्ने गरेको र उनी स्वयं पनि केही समय नेपालमा बसेको दाबी गरेका छन्। उनी नेपाली भाषा बोल्न सक्ने पनि परिवारको भनाइ छ।

यस घटनालाई गम्भीर रूपमा लिँदै पीडितका परिवारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, नेपाल प्रहरीलगायत सम्बन्धित निकायसँग निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।

साथै, आर्मेनियामा अलपत्र परेका चारै जना नेपालीको तत्काल उद्धार गरी सुरक्षित रूपमा स्वदेश फर्काउने व्यवस्था मिलाउन सरकारसँग उनीहरूले आग्रह गरेका छन्।

नोट: कम्पनी तथा सम्बन्धित व्यक्तिमाथि लगाइएका आरोपहरू पीडित र परिवारजनको दाबीमा आधारित छन्। सम्बन्धित पक्षको प्रतिक्रिया तथा आधिकारिक अनुसन्धानको निष्कर्ष आउन बाँकी छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः