वीरगञ्ज, ०५ फागुन । मकवानपुरको भीमफेदी कारागार तोडेर फरार भएका एक जना कैदीलाई बारा प्रहरीले पुनः पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नं. ०१ निवासी २६ वर्षीय विशाल मुखिया रहेका छन् । मुखियालाई मकवानपुर जिल्ला अदालतले किर्ते/डाँका मुद्दामा ५ वर्ष ६ महिना कैद एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उक्त सजाय भुक्तानका लागि भीमफेदी कारागारमा रहेका मुखिया जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागार तोडेर फरार भएका थिए ।फरार रहेका मुखियालाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले उनलाई फेरि चोरी गर्दै गरेको अवस्थामा फेला पारेको हो । फागुन ४ गते प्रसौनी गाउँपालिका वडा नं. ०१ स्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी गर्दै गर्दा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।पक्राउ परेका मुखियामाथि बारा जिल्ला अदालतबाट चोरी मुद्दामा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




