वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित १६० किलो गाँजा बरामद गरेको छ ।
संयुक्त टोलीले सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ आइरहेको प्रदेश ३–०१–००२च ५४३२ नम्बरको सुजुकी स्वीफ्ट कार रोकेर जाँच गर्दा चालक बुद्धिलाल घलानसहित उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
गाँजा प्याकिङ गरेको अवस्थामा कारको डिक्कीबाट फ्याँक्ने क्रममा चालक पक्राउ परेका थिए ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले चालक घलानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको जानकारी दिए । “यो अपरेसन विशेष सूचनाका आधारमा सञ्चालन गरिएको थियो,” उनले भने ।
सशस्त्र प्रहरीका अनुसार पक्राउ परेका घलानको साथबाट २२ हजार ५०० रुपैयाँ नगद र रियलमी कम्पनीको स्मार्टफोन पनि बरामद भएको छ । उक्त गाँजा भारततर्फ लैजान लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।घटनाले सीमा क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणमा सुरक्षा निकायको सक्रियता देखाएको छ । पर्सा जिल्ला लागूऔषध तस्करीको मुख्य मार्ग मानिन्छ ।




