वीरगञ्ज, ४ फागुन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले वीरगञ्ज महानगरपालिका–१६ नगवामा चुनाव प्रचार–प्रसार तथा सम्पर्क कार्यालय स्थापना गरेको छ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र जनसम्पर्क विस्तार गर्ने उद्देश्यसहित कार्यालय सञ्चालनमा ल्याइएको हो।
कार्यालयको उद्घाटन एमालेबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादव ले रिबन काटेर गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्रीसमेत रहेका यादवले कार्यालय स्थापना वडा स्तरीय जनसम्पर्क अभियानको सुरुवात भएको बताए। उनले वीरगञ्जलाई समृद्ध, सफा, सुन्दर र बस्न योग्य सहर बनाउने एमालेको प्रतिबद्धता दोहोर्याउँदै शिक्षा र स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउने, युवालाई रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्ने र सडक, बिजुली, खानेपानीलगायत आधारभूत पूर्वाधार विकासलाई प्राथमिकता दिने बताए। “समग्र वीरगञ्जलाई औद्योगिक केन्द्रका साथै पर्यटकीय हब बनाउने हाम्रो मुख्य चुनावी एजेन्डा हो,” उनले भने।
यादवले आफ्नो विगतको सार्वजनिक सेवाको अनुभव स्मरण गर्दै सांसद र मन्त्रीको जिम्मेवारी सम्हाल्दा जनताको सेवामा उल्लेखनीय सुधार गरेको दाबी गरे। उनले अब सोही अनुभवका आधारमा वीरगञ्जको समग्र विकासलाई नयाँ उचाइमा पुर्याउने र जनताको दैनिक जीवन सहज बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले वीरगञ्ज–१६ का मतदाता, शुभेच्छुक तथा समर्थकलाई कार्यालयमा नियमित रूपमा आउन, सुझाव दिन र अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गरे। “तपाईंहरूको साथ र सहयोगले हाम्रो जनसम्पर्क अभियानलाई अझ सशक्त बनाउनेछ,” उनले थपे।
कार्यालय उद्घाटनसँगै एमालेले वीरगञ्ज–१६ सहित सहरका विभिन्न वडामा जनसम्पर्क तथा संगठन विस्तार अभियानलाई तीव्रता दिने जनाएको छ। कार्यालयलाई उम्मेदवार र कार्यकर्ताहरूको नियमित सम्पर्क केन्द्रका रूपमा सञ्चालन गरिने बताइएको छ।
उद्घाटन कार्यक्रममा पूर्व सांसद प्रभु हजरा, निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, सुन्दर कुर्मी, रामबाबु पासवान, अरुण यादव, भुसाल चौरसियालगायतको उपस्थिति रहेको थियो।
यसैबीच, आज बिहान वीरगञ्ज–१८ सौराहामा तय गरिएको प्रदीप यादवको घरदैलो कार्यक्रम स्थानीय बलिस्टर यादवको निधनका कारण स्थगित गरिएको क्षेत्रीय कमिटीले जनाएको छ। पार्टीका नेताहरू स्वर्गीय यादवको अन्त्येष्टि कार्यक्रममा सहभागी हुने एमालेले जानकारी दिएको छ।




