वीरगन्जकी सामाजिक अभियन्ता शैली चौधरी पनि समानुपातिक उम्मेदवार

वीरगन्ज,१५पुसःबुद्ध एयरका सञ्चालक तथा संस्थापक वीरेन्द्रबहादुर बस्नेतसमेत जोडिएको नयाँ राजनीतिक दल गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ न्यूनतम ११ जनाको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ ।उक्त सूचीमा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१० की सामाजिक अभियन्ता शैली चौधरीको नाम पनि समावेश छ ।

 

पार्टीले आदिवासी जनजाति, अल्पसङ्ख्यक समुदाय, दलित तथा महिलालाई प्राथमिकता दिँदै यो न्यूनतम सूची तयार पारेको जनाएको छ । पार्टी अध्यक्ष दिनेश प्रसाईँका अनुसार, सूचीमा सेलेब्रिटीहरू नराखी केन्द्रीय कमिटीको सिफारिसमा आम नागरिकलाई प्रतिनिधित्व गराइएको हो।सूचीको पहिलो नम्बरमा चेपाङ समुदायको प्रतिनिधित्वका लागि विश्वास प्रजा राखिएको छ ।

 

त्यसपछि क्रमशः करुणा डुम्जन, रेजिना गुरुङ, नगमा खरेल, अल्का सापकोटा, दीर्घबहादुर खड्का, शैली चौधरी, अनामिका चौधरी, गीता केसी दर्नाल, रुबी खातुन र निशा राजवंशीको नाम समावेश छ ।

 

वीरगन्जकी शैली चौधरी मारवाडी समुदायबाट आउने एक चर्चित सामाजिक अभियन्ता हुन् । उनी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआई) समुदाय र दलित समुदायको उत्थानका लागि लामो समयदेखि सक्रिय छन् । हाल अस्ट्रेलिया सरकारले प्रदान गर्दै आएको अस्ट्रेलियन अवार्ड प्राप्त गरी छात्रवृत्तिमा अस्ट्रेलियामै स्नातकोत्तर अध्ययनरत चौधरीले वीरगन्जको आदर्श स्कुलबाट एसएलसी र हरिखेतान बहुमुखी क्याम्पसबाट स्नातक तहको अध्ययन पूरा गरेकी छन् । उनी वीरगन्जको प्रतिष्ठित संस्था संस्कृतिको पूर्व अध्यक्षसमेत रहेकी छन् ।

 

पछिल्लो समय उनले समता फाउन्डेसन र दलित लाइभ्स म्याटर जस्ता संस्थामा काम गर्दै दलित, महिला, अल्पसङ्ख्यक तथा एलजीबीटीआई समुदायको अधिकारका लागि आवाज उठाउँदै आएकी छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः