वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय जाजरकोटले अवैध रूपमा लुकाई छिपाई राखेको हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारेकोट गाउँपालिका- १ बयाला बस्ने वर्ष २३ का दीपेन्द्र बस्नेत रहेका छन् ।बस्नेतले आफ्नो साथमा गैरकानूनी रूपमा हातहतियार राखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बारेकोटबाट खटिएको प्रहरी टोलीले उनको घर तथा टहरा खानतलासी गरेको थियो ।
त्यसक्रममा बस्नेतको अस्थायी टहराभित्र रहेको खरको मुठा मुनि लुकाई छिपाई राखेको अवस्थामा १ थान एयरगन फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीरकुमार खड्काले जानकारी दिए ।प्रहरीले बस्नेतलाई नियन्त्रणमा लिई हातहतियार खरखजना सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेका बस्नेतलाई बिहीबार जिल्ला अदालत जाजरकोटबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




