चाडपर्वमा शान्ति, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिन पर्साका प्रमुख जिल्ला अधिकारी सुवेदीको आग्रह

वीरगञ्ज । आउँदै गरेका नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वलाई शान्तिपूर्ण, सभ्य र व्यवस्थित ढंगले मनाउन पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले  जिल्लावासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

पर्वहरूको अवसरमा सम्पूर्ण जिल्लावासीलाई सुस्वास्थ्य, दीर्घायु र प्रगतिका शुभकामना व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारीले जिल्लाको शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न सबैलाई सहयोग गर्न आह्वान गरेका छन्।

उनले जारी गरेको सूचनामा पर्व मनाउँदा परम्परादेखि चलिआएको मठ–मन्दिर तथा धार्मिक स्थलहरूमा अत्यधिक भीडभाड नगरी व्यवस्थित रूपमा पूजा–आराधना गर्न आग्रह गरिएको छ। त्यस्तै, भीडभाड हुने स्थानमा गरगहना नगर्न, व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्न र कसैको मान–इज्जतमा आघात पुग्ने काम नगर्न सचेत गराइएको छ।

सूचनामा भनिएको छ, “मठ–मन्दिर तथा मेलामा जाँदा मादक पदार्थ सेवन नगर्नुहोस्। ध्वनि प्रदूषण हुने गरी उच्च आवाजमा डि.जे. वा अन्य साउण्ड सिस्टम प्रयोग नगर्नुहोस् र कसैप्रति दुर्व्यवहार वा अमर्यादित आचरण नगर्नुहोस्।”

जिल्लाको सदरमुकाम वीरगञ्जमा अझै पनि झाडापखाला तथा हैजा महामारीको जोखिम रहेकाले सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ। फोहोर पदार्थ छोएपछि वा खाना खानुअघि साबुनपानीले राम्ररी हात धुने, उमालेको वा क्लोरिनयुक्त पानी मात्र पिउने र स्वास्थ्यवर्द्धक खाद्यपदार्थ सेवन गर्न आग्रह गरिएको छ।

चाडपर्वका समयमा चोरी, हुलदंगा वा अन्य आपराधिक क्रियाकलाप हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन र यस्ता घटना भएमा तुरुन्त नजिकको सुरक्षा निकायलाई खबर गर्न समेत सूचनामा उल्लेख गरिएको छ।

यात्राका क्रममा यात्रुहरूले बढी भाडा तिर्नुपर्ने, सिट नपाउने वा समयमा गाडी नचाल्ने समस्या भएमा पनि नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ। यातायात व्यवसायीलाई भने इमानदारीका साथ आफ्नो व्यवसाय सञ्चालन गर्न अनुरोध गरिएको छ।

प्रमुख जिल्ला अधिकारीले जिल्लामा शान्ति सुरक्षा भंग गर्ने कुनै गतिविधि देखिएमा तत्काल जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गण, वा प्रहरी कन्ट्रोल नम्बर १०० मा सम्पर्क गर्न आह्वान गरेका छन्।

“सहयोगका लागि धन्यवाद,” भन्दै उनले सबै जिल्लावासीलाई मिलेर चाडपर्वलाई सुरक्षित र व्यवस्थित ढंगले मनाउन आग्रह गरेका छन्।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः