वीरगञ्ज । सप्तरीको रूपनी गाउँपालिका पौवा टोलमा शुक्रवार राति करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।
आफूले चलाउँदै आएको सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर स्थानीय ४७ वर्षीय बालेश्वर खंग र उनकी ४५ वर्षीय श्रीमती रामकुमारी खंगको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय राईले जानकारी दिएका छन् ।
मृतकका दुई सन्तान छोराहरू मध्ये कान्छो छोरा फरक क्षमता भएको र आमाबाबुको एकै पटक अल्पायुमा मृत्यु भएपछि परिवारमा ठुलो बज्रपात परेको रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए । उनले भने, ‘‘यो एकदमै दुःखद घटना भएकाले गाउँपालिका शोकमा डुबेको छ ।’’
प्रहरीले आवश्यक प्रक्रिया पुर्याइ मृतक द्वयको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र घटनाको अनुसन्धान भइरहेको राईले जानकारी दिएका छन् ।




