वीरगञ्ज । देशभर नयाँ वर्ष २०८२ को पहिलो दिन हर्षोल्लासपूर्वक मनाइँदै गर्दा वीरगञ्जवासी भने कर्फ्यु र निषेधाज्ञाका कारण उत्सवबाट वञ्चित भएका छन्।
चैत ३० गते साँझदेखि चैत ३१ गते मध्यरातसम्म जारी गरिएको कर्फ्युका कारण वीरगञ्जमा पूर्वनिधारित विभिन्न सांस्कृतिक तथा व्यापारिक कार्यक्रमहरू स्थगित हुन पुगेका हुन्। वीरगञ्ज महानगरपालिकाले नयाँ वर्षलाई लक्षित गरी आयोजना गरेको ‘रात्रि बजार’ कार्यक्रमसमेत दुई दिनसम्म सञ्चालन हुन नसक्दा अन्ततः रद्द गरिएको छ।
होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तका अनुसार कर्फ्यु र निषेधाज्ञाका कारण नयाँ वर्ष मनाउन आएका पाहुनाहरू वीरगञ्ज छोडेर फर्किन थालेका छन्। “यो घटनाले यहाँको पर्यटन व्यवसायलाई ठूलो धक्का पुर्याएको छ,” पन्तले बताए।
सामान्यतया नयाँ वर्षको पूर्वसन्ध्या र मुख्य दिनमा वीरगञ्जका होटलहरू पर्यटकले भरिभराउ हुने गरेका थिए। तर यस वर्ष, अचानक लागू गरिएको कर्फ्यु र निषेधाज्ञाले होटल व्यवसायमा नकारात्मक असर परेको छ। अध्यक्ष पन्तका अनुसार नयाँ वर्षको अवसरमा होटलहरूको अकुपेन्सी करिब ५५ प्रतिशत पुगिसकेको थियो, तर कर्फ्युका कारण पाहुनाहरू फर्किन थालेपछि अधिकांश होटलहरू खाली भएका छन्।
वीरगञ्जमा १० अर्बभन्दा बढी लगानीमा सुविधा सम्पन्न तारे होटलहरू सञ्चालनमा छन्। दियालो, लडर्स प्लाजा, भिष्वा, क्लार्क रिसोर्ट, सुरज होटलजस्ता प्रतिष्ठित होटलहरू सहित बजार क्षेत्रमा ८५ भन्दा बढी साना-ठूला होटल तथा लजहरू सक्रिय छन्। तर, निषेधाज्ञा र कर्फ्युका कारण यिनका व्यापारमा समेत ठूलो असर परेको व्यवसायीहरूको गुनासो छ।
व्यवसायीहरूका अनुसार बन्द, हड्ताल, निषेधाज्ञाजस्ता गतिविधिहरूले होटल मात्र नभइ सम्पूर्ण व्यापारिक गतिविधि नै प्रभावित भएको छ।
यद्यपि, वीरगञ्ज महानगरपालिकाले भारतीय पर्यटकलाई दुई रात पर्सा क्षेत्रमै रोक्न दीर्घकालीन योजना बनाइरहेको जनाएको छ। सीमावर्ती नाका रक्सौल हुँदै मासिक हजारौं भारतीय पर्यटक नेपाल प्रवेश गर्छन् तर वीरगञ्जलाई पारगमनमार्ग मात्र प्रयोग गर्दै आएका कारण यहाँको पर्यटन क्षेत्रले सम्भावित लाभ लिन सकेको छैन।
स्थायीत्वपूर्ण वातावरण र पर्यटकीय गन्तव्यहरू विकास गर्न सके वीरगञ्जले पर्यटनको क्षेत्रमा नयाँ उचाइ हासिल गर्न सक्ने व्यवसायीहरूको विश्वास छ।




