विराटनगर । गत असोज ३१ गते दिउँसो विराटनगर–१८, मटेरुवा नाकामा नियमित गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले भारतीय नम्बर प्लेटको एउटा हुन्डाई ‘भेन्यु’ कारलाई शङ्कास्पद अवस्थामा देख्यो । सुरक्षाकर्मीले रोक्न खोज्दा चालकले गाडी नरोकी हुइँक्याएर भगाए ।
चेकजाँच छलेर भागेको बीआर ३८ एपी ८२८६ नम्बरको उक्त कार केहीबेरमै दिउँसो ४ बजेर ५० मिनेट जाँदा विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाट नजिक भेटियो । गाडी नेपालतर्फबाटै भन्सार ढाटतर्फ गइरहेको थियो र चालक भर्खरै भारतबाट आएजस्तो नाटक गरेर ‘अस्थायी पैठारी अनुमति’ (भन्सार छुटपुर्जी) बनाउने दाउमा थिए ।
सशस्त्र प्रहरीले तत्कालै घेरा हालेर गाडी नियन्त्रणमा लिन खोज्यो, तर चालक भने गाडीको चाबी लिएर फरार भए ।
गाडी नियन्त्रणमा लिएपछि मोरङका अवैध क्यारिङ र तस्करीमा संलग्न सुरेशकुमार यादव र सबरुन खातुनले उल्टै सुरक्षाकर्मीमाथि आरोप लगाउँदै पत्रकार सम्मेलन गरे । विराटनगरको एक होटलमा पत्रकार सम्मेलन गरी उनीहरूले सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, रानीका डीएसपी सूर्यप्रकाश शर्मा र सशस्त्र प्रहरी, मोरङका एसपी गेहेन्द्रबहादुर भण्डारीले ‘वैध रूपमा भन्सार सुविधा लिएर चलाएको गाडी नियन्त्रणमा लिएर ९ दिनसम्म दुःख दिएको’ आरोप लगाए ।
तर, उनीहरूको यो भनाइ भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ५६औँ बटालियनले पठाएको एउटा औपचारिक पत्रले झुटो साबित गरिदिएको छ । एसएसबीको जोगबनीस्थित बोर्डर चेक पोस्ट (बीसीपी)ले सशस्त्र प्रहरीलाई पठाएको पत्रमा भनिएको छ, ‘उक्त हुन्डाई भेन्यु कार गत असोज ३१ गते (१७ अक्टोबर २०२४) भारतबाट नेपालतर्फ प्रस्थान भएकै छैन ।’
एसएसबीको पत्र आएपछि तस्करसँग भन्सारभित्रका केही कर्मचारीकै सेटिङ भएको अनुसन्धानमा संलग्न उच्च अधिकारी बताउँछन् । ‘कर्मचारीलाई त झुक्याउँछन् पनि । उनीहरू बाहिर निस्किएर हेर्दै हेर्दैनन् । काट्ने बेलामा भित्र बसेर कागज दिएपछि स्वाट्ट काट्दिन्छन्, बाहिर गाडी छ कि छैन भनेर कहिल्यै हेर्दैनन् । अहिलेमात्रै हैन, जुनसुकै केसमा पनि उनीहरूलाई डकुमेन्ट दिएपछि भित्र बसेर काम गर्छन्, गाडी बाहिर छ कि छैन भन्ने थाहा हुँदैन । त्यो हेर्ने प्रविधि पनि छैन,’ ती अधिकारीले भने ।
अधिकारीहरूका अनुसार गाडी नेपालमै लुकाएर राख्ने र भन्सारबाट ‘कागजी इन्ट्री’ मात्र गराउने पुरानै तरिका प्रयोग भइरहेको छ । ‘अनि छुट पुर्जी लिएपछि उनीहरू इन्डियामा एक्जिट नभइकन प्रत्येक दिन छुटपुर्जी काट्ने ! गाडी इन्डिया जाँदैन कहिल्यै पनि, गाडी नेपालमै हुन्छ,’ ती अधिकारीले भने ।
मोरङका सशस्त्र प्रहरीका प्रमुख गेहेन्द्रबहादुर भण्डारीले उक्त गाडी भारतबाट नेपाल प्रवेश गरेको रेकर्ड नै नरहेको बताए । ‘एसएसबीको इन्ट्री बुकमा पनि त्यो गाडी छैन । यो गाडी आजको दिनमा इन्ट्री भएको छैन भनेर हामीलाई कन्फर्मेसन लेटर पनि दिएको छ उसले । पुरानो रेकर्डमा पनि छैन, तर त्यो दिनको त हामीले कन्फर्मेसन लेटर नै ल्याएका छौँ,’ उनले भने ।
भन्सार कर्मचारीहरूले लेनदेनको भरमा फोनकै आधारमा छुटपुर्जी काटिदिने गरेको हो कि भन्ने विषयमा अनुसन्धान सुरु भएको अर्का सुरक्षा अधिकारीले बताए । ‘कस्तो फट्याइँ गर्छन् भने गाडी समायो, भन्सारले फोनको भरमा छुटपुर्जी काटिदिन्छ । खासमा त्यही बिगार भो,’ ती अधिकारीले भने ।
अवैध कारोबारमा संलग्न भएको आशङ्कामा सुरक्षाकर्मीले हुन्डाई भेन्यु कारलाई त्यो दिन पनि फलो गरिरहेको थियो । भन्सारको कर्मचारीलाई सुरक्षाकर्मीले नै आज त्यो गाडी आउँदैछ, छुटपुर्जी नकाट्नु भन्ने सुझाव पनि दिएका थिए । ‘भन्सारको स्टाफलाई आज यो गाडी आउँदैछ, छुटपुर्जी नकाट्नु, नेपालतर्फै छ यो गाडी भनेर भनिएको थियो । त्यति गर्दागर्दै पनि छुटपुर्जी काटीदियो,’ ती अधिकारीले भने ।
उक्त गाडी कपडा र खाद्यान्न तस्करीको लागि प्रयोग हुने गरेको प्रहरीको दाबी छ । ‘पारिपट्टि किन्यो, फोनका भरमा पुर्जी काटिहाल्थ्यो, नेपालतर्फै राख्थ्यो गाडी । यतै राखेको सबै सीसीटीभी फुटेजहरू पनि छ हामीसँग,’ ती सुरक्षा अधिकारीले भने, ‘अब यो ठुलै स्क्यान्डल हुनेवाला छ ।’
एसएसबीको आधिकारिक पत्र र सीसीटीभी फुटेज हात परेपछि सशस्त्र प्रहरीले ७०–८० लाख मूल्य बराबरको उक्त हुन्डाई कारको लक तोडेर सोमबार राति विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । गाडीको चाबी चालकले लुकाएको कारण यसो गर्नुपरेको प्रहरीले जनाएको छ । ‘भारतीय सुरक्षा निकायबाट पत्र प्राप्त भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोमबार राति गाडी भन्सार दाखिला गरिएको हो । अब थप अनुसन्धान र कारबाही भन्सारले अघि बढाउनेछ,’ उनले भने ।
विराटनगर भन्सार कार्यालयका अधिकृत भीमराज आङदम्बेले भने प्रमुख भन्सार अधिकृत बिदाबाट फर्किएपछि मात्रै कानुनी प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । सुरेशकुमार यादव यसअघि पनि तस्करीमा संलग्न रहँदै आएका पुराना अभियुक्त हुन् । गत भदौ ३ गते सशस्त्र प्रहरी बल ३ नम्बर गण कंकालिनीले उनको विराटनगर–१४ स्थित घरमा छापा मारेर ३ लाख ३८ हजार रुपैयाँ बराबरको अवैध रजनीगन्धा र लत्ताकपडा बरामद गरेको थियो । भन्सारमा धरौटी बुझाएर भदौ ६ गते यादव छुटेका थिए, तर उनले आफ्ना आफन्त मो. हाजरत अलीको नाममा रहेको भारतीय कारलाई फेरि तस्करीमा प्रयोग गरिरहेको खुलेको हो ।
यो घटना विराटनगर नाकामा भइरहेको एउटा प्रतिनिधिमूलक दृष्टान्त मात्र हो । मोरङ जिल्लामा मात्रै भन्सार सुविधाको दुरुपयोग गरी अवैध रूपमा व्यक्तिगत र तस्करी प्रयोजनमा सञ्चालन भइरहेका भारतीय नम्बर प्लेटका साना सवारीको संख्या ५ सयको हाराहारीमा रहेको सुरक्षा निकायको तथ्याङ्क छ ।
सशस्त्रका एसपी भण्डारीका अनुसार खुला सिमानाको फाइदा उठाउँदै भन्सार सुविधामा भित्र्याएर नेपालमै होल्ड गरिएका यस्ता गाडीहरू अवैध मालसामान मात्र नभई लागुऔषध ओसारपसारका लागिसमेत ठुलो सुरक्षा चुनौती बनेका छन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले अस्थायी पैठारी अनुमति लिएर भित्रिएका गाडी नेपालमै राख्न कानुनी छुट नभएको स्पष्ट पारे । ‘अस्थायी पैठारी अनुमति लिएर आएका गाडी यहाँ घरमा पार्किङ गरेर राख्न पाइँदैन । सुविधा सकिएपछि छुटपुर्जी लिएर फर्किनुपर्छ । नियम उल्लङ्घन गर्ने यस्ता गाडी नियन्त्रणमा लिएर भन्सार दाखिला तीव्र बनाइएको छ,’ कोइरालाले भने ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कबित कटुवालका अनुसार मंगलबार मात्रै विराटनगर–४ नहरचौकबाट बीआर ११ पीए ४२५४ नम्बरको स्कार्पियो नियन्त्रणमा लिइएको छ, जसका चालक प्रहरी देख्नासाथ भागेका थिए । यसअघि विराटनगर–१४ का ओम साहको घरबाट समेत बीआर ११ डब्लू ३३०७ नम्बरको स्कार्पियो र बीआर ०७ एई ६५८४ नम्बरको केटीएम ड्युक मोटरसाइकल बरामद गरिएको थियो, जसको कागजात अहिलेसम्म भन्सारमा पेस हुन सकेको छैन ।
यातायात कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा मात्रै पटके कर र रुट पर्मिटबापत २१ लाख ६४ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भए पनि नेपालमै अवैध रूपमा गुड्ने भारतीय गाडीहरूको यकिन तथ्याङ्क भने अझै व्यवस्थित हुन सकेको छैन ।






