वीरगन्ज,१० असोजः सशस्त्र प्रहरी बल नेपालले पछिल्लो तीन महिनाको अवधिमा मधेस प्रदेशबाट झण्डै २७ करोड ८५ लाख रुपैयाँ बराबरको अवैध किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटरपाट्र्स तथा कस्मेटिक सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीले अवैध सामान ओसारपसार (तस्करी)मा प्रयोग भएका १० करोड २२ लाख रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधनसमेत नियन्त्रणमा लिएर भन्सार दाखिला गरेको जनाएको छ। ३ महिनाकै अवधिमा ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको एक हजार एक सय क्युफिट काठ र एक सय दुई ग्राम चाँदी पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। अवैध कारोबारमा संलग्न ८४ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
मधेस प्रदेशका सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार नियन्त्रणमा समेत सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। तीन महिनामा एक सय ९३ ग्राम ब्राउन सुगर, नौ किलो पाँच सय ग्राम चरेस र एक हजार छ सय ६ किलोभन्दा बढी गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै, तीन थान कटुवा पेस्तोल, दुई थान सिक्सर, दुई थान भरुवा बन्दुक तथा त्यसका राउन्ड र बारुदसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।यसैगरि ानव बेचबिखनको आशंकामा २९ महिला र ३० पुरुषलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।






