वीरगंज,१० असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित अशोक स्टील नजिकबाट सशस्त्र प्रहरीले ८० ग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ का २८ वर्षीय हुस नयन अंसारी र वीरगन्ज महानगरपालिका–१४ का १८ वर्षीय राजन पासवान रहेका छन्।
सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बेस जीतपुरबाट खटिएको टोलीले वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको प्र.२–०३–००९प ३७५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीले जानकारी दिनुभयो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।






