बैंक तथा वित्तीय संस्थाहरु ठगीको निशानामा, सीआईबीद्वारा सावधानी अपनाउन आग्रह

वीरगञ्ज । नेपालमा बैंक तथा वित्तीय संस्थाहरु, वालेट सेवा, र सामाजिक सञ्जालको माध्यमबाट करोडौँ रुपैयाँको ठगीका घटना बढ्दै गएका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यस्ता ठगीबाट बच्न सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार, सामाजिक सञ्जालजस्तै फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, भाइबर, र इमोजस्ता प्लेटफर्म प्रयोग गरी सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर ठगी गर्ने क्रम तीव्र छ। विशेषगरी, इ-सेवा, खल्ती जस्ता वालेट र बैंक/वित्तीय संस्थाको नाम दुरुपयोग गर्दै विभिन्न अपरिचित नम्बरबाट फोन तथा म्यासेज गरी ठगी गरिन्छ।

ठगीका नयाँ तरिका
ठगीमा संलग्न व्यक्तिहरूले प्रयोगकर्ताको वालेट वा बैंक खातामा पहुँच गर्न निम्न विधिहरू अपनाउने गरेको ब्यूरोले जनाएको छः वालेट सेवा प्रदायकको प्रतिनिधि बनेर फोन गरी गोप्य कोड (ओटीपी) माग्ने। वालेटमा समस्या देखिएको भन्दै तत्काल सहयोग गर्ने बहानामा रकम ट्रान्सफर गर्ने। कृत्रिम बौद्धिकता (एआई) द्वारा सिर्जना गरिएका आवाज र प्रलोभनयुक्त म्यासेज पठाई लिंक खोल्न लगाउने।

ठगीका उल्लेख्य घटना
पोखरामा ५७ लाख, चितवनमा १६ लाख, र सरकारी कर्मचारीहरुबाट ५ लाख ५० हजार ठगी भएका घटनामा अनुसन्धान भइरहेको छ। यसैगरी, एफवान सफ्टको सिस्टम ह्याक गरी सिटिजन्स बैंकबाट ३ करोड ५१ लाखभन्दा बढी रकम चोरी गरिएको घटनामा २४ जनालाई प्रतिवादी बनाइएको छ।

प्रतिवादीमध्ये ९ जना पक्राउ परिसकेको र १५ जना फरार रहेको ब्यूरोले जनाएको छ। पक्राउ परेकाहरूमा त्रिगुण रत्न बज्राचार्य (ललितपुर), राहुल ठाकुर (सिरहा), कृष्णरमण राउत (सप्तरी) लगायतका व्यक्ति छन्।

सीआईबीद्वारा सतर्कता सन्देश
सीआईबीले सर्वसाधारणलाई अपरिचित नम्बरबाट आएका फोन वा म्यासेजमा प्रतिक्रिया नदिन आग्रह गरेको छ। साथै, ठगीका संदिग्ध व्यक्तिहरूबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा सीआईबीमा सुचना दिन आग्रह गरेको छ।

बैंकिङ प्रणालीको सुरक्षाका लागि आधुनिक प्रविधिहरूको उपयोग गरिए पनि अपराधीहरूले यिनै प्रविधिलाई उपयोग गरी नयाँ किसिमका ठगी गर्न थालेका छन्। सर्वसाधारणलाई यस्ता गतिविधिबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः