एमबीबीएसमा नाम निकाल्दिने भन्दै ३८ लाख ८० हजार लिएको खुलासा

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेले ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएको छ । यसअघि सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाममा उमा गौरी कृषि सहकारीको ठगी धन्दामा पक्राउ गर्न जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको थियो । यद्यपि अञ्जलालाई प्रहरीले अझै पक्राउ गरेको छैन । उक्त घटना सेलाउन नपाउँदै पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश दिएको पाइएको छ । पोखरेल नेकपा एमाले मोरङ जिल्ला समितिका सदस्य पनि हुन् ।

मोरङ रंगेली नगरपालिका २ मंगलबारेका ४३ वर्षीय पोखरेलले ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको पाइएको हो । पोखरेलविरुद्ध २०७९ साउन ३१ गते उच्च अदालतमा ठगी मुद्दा दर्ता भएको थियो । सप्तरी अग्नीसाईर कृष्णसवरन गाउँपालिका ५ बकधुवाका बौआलाल चौधरीले पोखरेलले आफ्नी छोरी दिक्षा चौधरीलाई उच्च शिक्षा एमबिबिएस डाक्टर पढाउनका लागि नाम निकाल्दिने भन्दै ३८ लाख ८० हजार लिएको भन्दै निवेदन दिएका थिए । प्रहरीले जाहेरी लिन नमानेपछि उनले उच्च अदालत विराटनगरमा परमादेश माथ गर्दै निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि उच्च अदालत विराटनगरका न्यायाधीशहरू राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलाशले २०८१ भदौ ३१ गते आदेश दिँदै पोखरेलमाथि अनुसन्धान गर्न आदेश दिएको हो । उच्च अदालतले उक्त आदेश गत पुस ११ गते प्रमाणीकरण गरेको छ ।

अदालतको आदेशमा ‘विपक्षीबाट कानुनमा उल्लिखित कर्तव्य वहन नगरेको कारणले सो कर्तव्य बहन गराउन आवश्यक र उपर्युक्त उपचार माग गरेमा र निजको माग जायज र कानुन सम्मत नै देखिँदा निवेदकले दिएको जाहेरी दरखास्तको आवश्यक कारबाही र कानुन सम्मत निकासको लागि विपक्षीमध्येका जिल्ला प्रहरी कार्यालय मोरङ नाउँमा परमादेशको आदेश जारी गर्नु पर्ने देखिन आयो’ भन्ने उल्लेख छ ।

‘अतः निवेदक बौआलाल चौधरीले हुलाक मार्फत पठाएको जाहेरी दरखास्त मिति २०७९।४।१९ गते जिल्ला प्रहरी कार्यालय, मोरङ विराटनगरले बुझिलिएको भन्ने पोष्टमेन (बुक) किताबको सक्कल किताबबाट देखिन आएकोले कानुनको प्रक्रिया पुर्‍याई जाहेरी दर्ता गरी कानुन बमोजिम प्रक्रिया अगाडि बढाउनु भनी विपक्षी जिल्ला प्रहरी कार्यालय, मोरङ विराटनगरका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ,’ अदालतको आदेशमा भनिएको छ ।

यस्तो थियो ठगी धन्दा

पोखरेलले बौवालाल चौधरीलाई छोरीलाई एमबीबीएसमा नाम निकालिदिने र होस्टलमा राख्ने समेत वातावरण मिलाउने प्रतिबद्धता जनाएका थिए । ‘तपाईँको छोरी डाक्टर बनिहाल्छ तपाई सो वापत मैले भने जति रुपैयाँ दिनुपर्छ तर तपाईले केही गर्नुपर्दैन भनि विश्वासमा पारि बिपक्षीलाई पटक–पटक गरी जम्मा ३८ लाख ८० हजार दिएको हो,’ उनले दाबी गरे । तर, रकम लगेपनि एमबीबीएस पढ्ने छोरीको नाम निस्किएन ।

ठगीमा जोडिएका पोखरेललाई सांसद ऋषिकेशले डेढ वर्ष अगाडि स्वकीय सचिवमा नियुक्ति गरेका थिए । पोखरेलले अनिललाई स्वकीय सचिवमा नियुक्ति गर्नु अगाडि चौधरीसँग विभिन्न मितिमा सात पटक गरी उक्त रकम लिएको तथ्य र प्रमाण भेटिएको छ ।

त्यसपछि उनले पैसा फिर्ता माग्न थाले । त्यसबेला पोखरेलले काम नभए पैसा फिर्ता हुने बताएका थिए । पैसा फिर्ता माग्दा  पोखरेलले उल्टै उनलाई धाक धम्की दिएर २०७९ साउन ९ गते २०७४ साल असार २५ गतेको कपाली लिखत बनाए र ५० लाखको कागज गराए । ‘कपाली लिखतमा ऋणी मलाई बनाई रु.५० लाखको कागजमा विपक्षी धनि भै जोरजुलुम गरी कागज बनाएको हुँदा विपक्षीको उक्त कार्यले उल्टै तिर्नु बुझाउनु पर्ने गरी गैर कानुनी तरिकाले कागज बनाई मैले पाउने रकम नदिई खाने पचाउने नियत भएकोले कानुन विपरीत कार्य विपक्षीले गरेकोले विपक्षीलाई खोज तलास तथा पक्राउ गरी गैर कानुनी तरिकाले बनाएको ५० लाखको कागज बदर च्यातल गरी विपक्षीलाई हदै सम्मको सजाय गरी पाउन जाहेरी दिएको हुँ,’ चौधरीले अदालतमा दिएको निवेदनमा उल्लेख छ ।

ठगीमा जोडिएका पोखरेललाई सांसद ऋषिकेशले डेढ वर्ष अगाडी स्वकीय सचिवमा नियुक्ति गरेका थिए । पोखरेलले अनिललाई स्वकीय सचिवमा नियुक्ति गर्नु अगाडि चौधरीसँग विभिन्न मितिमा सात पटक गरी उक्त रकम लिएको तथ्य र प्रमाण भेटिएको छ । चौधरीले सुरुमा रामदेव सिंह मार्फत २० भदौ २०७१ मा १ लाख रुपैयाँ पोखरेलको नबिल बैंकको ३५१००१७५०३९८१ खातामा जम्मा गरिदिएका छन् । त्यसैगरी केदार प्रसाद घिमिरे मार्फत २३ कार्तिक २०७१ मा ५० हजार, १३ फागुन २०७१ मा फेरी ५० हजार, बौआलाल चौधरी मार्फत २२ मंसिर २०७३ मा १० लाख, २२ मंसिर ०७३ मा ८ लाख र सोही मितिमा १७ लाख गरी पोखरेलको खातामा पटक–पटक गरी ३८ लाख ३० हजार रुपैयाँ जम्मा भएको देखिन्छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः