वीरगञ्ज । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम यही चैत १२ गते दिउँसो २ बजे आयोजना हुने भएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा सम्पन्न हुनेछ।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले निर्धारित समयभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन सबै सांसदलाई अनुरोध गरिएको जानकारी दिएका छन्।
शपथ ग्रहणमा सहभागी हुँदा सांसदहरूले निर्वाचन आयोगबाट प्राप्त निर्वाचित भएको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रतिलिपि तथा हालसालै खिचिएका दुई प्रति पासपोर्ट साइज फोटो अनिवार्य रूपमा ल्याउनुपर्नेछ।
त्यस्तै, आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन पनि सचिवालयले आग्रह गरेको छ।
यदि कुनै सांसदले नेपाली बाहेक अन्य मातृभाषामा शपथ लिन चाहेमा, सो शपथको पाठ सम्बन्धित भाषामा अनुवाद गरी कार्यक्रमभन्दा कम्तीमा तीन दिनअघि नै संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।




