वीरगञ्ज,२९ माघ । बारामा पहिलोपटक आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकता वितरण गर्ने कार्य सुरु गरिएको छ। नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनअनुसार कानुनी व्यवस्था कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय बाराले उक्त प्रक्रिया अघि बढाएको हो।जिल्ला प्रशासन कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका वडा नं. ५ निवासी कान्ती देवी कुर्मीका छोरा सुरत राउत र कलैया उपमहानगरपालिका वडा नं. ४ निवासी चन्द कुमारी क्षेत्रीका छोरा सागर सिंहलाई आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ।नागरिकता ऐनमा गरिएको संशोधनपछि आमाको नामबाट पनि नागरिकता प्राप्त गर्न सकिने स्पष्ट कानुनी व्यवस्था भएअनुसार बारामा पहिलोपटक यो प्रक्रिया कार्यान्वयनमा आएको हो। सम्बन्धित व्यक्तिहरूले आमाको नागरिकता, वडा कार्यालयको सिफारिस तथा आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा गरेपछि प्रमाणपत्र वितरण गरिएको प्रशासनले जनाएको छ।आमाको नामबाट नागरिकता वितरण सुरु भएसँगै नागरिकताको पहुँचबाट वञ्चित नागरिकहरूलाई सहजता मिल्ने अपेक्षा गरिएको छ।
सुचना विभाग दर्ता नम्बरः १६५५
प्रेस काउन्सिल दर्ता नम्बर: १९३९




