वीरगञ्ज, २७ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्यलाई तीव्र पारेको छ। आयोगका अनुसार हालसम्म ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका लागि कुल १ करोड ३७ लाख ९१ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ।भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छपाइ कार्य अन्तर्गत हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ र बाँकेका मतपत्र छापिसकिएको आयोगले जनाएको छ।आयोगका अनुसार हाल केन्द्रमा दैनिक करिब १५ लाखको अनुपातमा मतपत्र छपाइ भइरहेको छ। आयोगले फागुनको पहिलो साताभित्रै सबै जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ सक्ने लक्ष्य राखेको छ। पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीका लागि देशभर कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने कार्यतालिका रहेको छ।समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आवश्यक पर्ने सबै मतपत्रको छपाइ कार्य यसअघि नै सम्पन्न भइसकेको छ। समानुपातिकतर्फ कुल २ करोड ८ लाख ३० हजार मतपत्र छापिएको र ती मतपत्रहरू अहिले आयोगको गोदाममा सुरक्षित राखिएको छ।
आयोगले मतपत्र छपाइ सकिएका जिल्लाहरूमा माघको अन्तिम सातादेखि नै ढुवानी प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। दुर्गम जिल्लाहरूमा हेलिकप्टरमार्फत र सुगम जिल्लाहरूमा सडकमार्फत कडा सुरक्षा घेराभित्र मतपत्र पठाइनेछ।




