
हामी मध्ये धेरैले बिहान उठ्नेबित्तिकै मोबाइल हेर्छौं, केहीले चिया खान्छौं, अनि दिनभरि काममा व्यस्त हुन्छौं। यस्तो हतारको जीवनशैलीमा ‘पानी पिउन बिर्सनु’ सामान्यजस्तै लाग्छ। तर थाहा छ? शरीरमा पानीको कमी हुनु भनेको केवल तिर्खा लाग्नु मात्र होइन – तपाईंको मस्तिष्कले भन्न खोजिरहेको हुन्छ, “म अब ठीकसँग काम गर्न सक्दिन!”
हो, पानीलाई हामीले सामान्य र स्वाभाविक रूपमा लिन्छौं। चिसो पानीको गिलास सायद तातो दिनमा ताजा महसुस गराउनका लागि मात्र हो भन्ने सोच्न सक्छौं। तर विज्ञान भन्छ – पानी हाम्रो शरीरको हरेक प्रणालीको लागि अत्यावश्यक ईन्धन हो। विशेष गरी, हाम्रो मस्तिष्कका लागि त पानी अति नै आवश्यक कुरा हो।
किन मस्तिष्कका लागि पानी जरुरी छ?
पहिलो कुरा – हाम्रो मस्तिष्क आफैमा करिब ७५ प्रतिशत पानीले बनेको हुन्छ। यो सुन्दा अनौठो लाग्न सक्छ, तर हो, हाम्रो सोच्ने, सम्झने र निर्णय गर्ने अंग पानीमै बाँचेको छ। त्यसैले जब शरीरमा पानीको मात्रा घट्छ, त्यसको असर सिधा मस्तिष्कमै पर्न जान्छ।
डिहाइड्रेशनले मस्तिष्कमा के गर्छ?
एकछिन कल्पना गर्नुहोस् – तपाईं घाममा हिँड्दै हुनुहुन्छ, पसिना धेरै आइरहेको छ, पानी नपिएको धेरैबेर भइसक्यो । यस्तो अवस्थामा तपाई थकित महसुस गर्न थाल्नुहुन्छ, ध्यान केन्द्रित गर्न गाह्रो भइरहेको हुन्छ, सानो कुरामा झर्को लाग्न थाल्छ।
सामान्यजस्तो लागे पनि, यो सबैको कारण एउटै हो: शरीरले पर्याप्त पानी पाएको छैन।
जब शरीरमा पानीको मात्रा घट्छ:
रगत बाक्लो हुन्छ, जसले मस्तिष्कसम्म पुग्ने अक्सिजन कम गर्छ।
नसा प्रणालीले पठाउने सन्देशहरू सुस्त हुन्छन्।
स्नायविक रासायनिक सन्तुलन (neurotransmitters) बिग्रन्छ।
दिमाग ‘बोझ’ महसुस गर्छ – जसको असर ध्यान, स्मरण शक्ति, मूड र निर्णय गर्ने क्षमता सबैमा देखिन्छ।
यो अवस्था केही घण्टाको पानीको कमीपछि पनि देखिन सक्छ। शरीरको तौलको १-२% बराबर पानी गुम्नासाथ असर देखिन थाल्छ भन्ने अनुसन्धानहरूले पुष्टि गरेका छन्।
स्नायुतन्त्र पनि संकटमा पर्छ
स्नायुतन्त्र भनेको मस्तिष्क, मेरुदण्ड र नसा मिलेर बनेको प्रणाली हो – जसले शरीरका हरेक क्रियाकलाप सञ्चालन गर्छ। खाना पचाउने, मांसपेशी हिँडाउने, बोल्ने, सोच्ने – सबै यही प्रणालीले नियन्त्रण गर्छ।
तर, डिहाइड्रेशन हुँदा स्नायुतन्त्रको संकेतहरू सही रूपमा प्रवाह हुँदैनन्। यसो हुनुको कारणहरु निम्नानुसार छन्–
इलेक्ट्रोलाइट असन्तुलन – शरीरमा सोडियम, पोटासियमजस्ता खनिजहरूको मात्रा गडबड हुन्छ।
कोषहरू खुम्चिन्छन् – पानी अभाव हुँदा कोषहरू आफ्नो सामान्य आकार गुमाउँछन्।
स्नायु संकेतहरू भ्रमित बन्छ – जसले चल्ने, उठ्ने, प्रतिक्रिया जनाउने क्षमतालाई प्रभावित पार्छ।
त्यसैले, कहिले काहीँ हामी सोच्ने क्षमता कमजोर भएजस्तो, हातखुट्टा ल्यालालुकलुलुक हुन थाल्यो वा मुड गडबड भए जस्तो महसुस हुन थाल्यो भने – त्यसको कारण डिहाइड्रेशन पनि हुन सक्छ।





