सुन्दर र स्वस्थ देखिन कसरी गर्ने कपालको हेरचाह ?

बर्खायाम सुरु भए पनि हप्प गर्मी छ । गर्मीमा तापक्रमका कारण कपालमा धेरै समस्या निम्तिरहेका हुन्छन् ।

छालारोग विशेषज्ञ डा. प्रज्वल पुडासैनीका अनुसार गर्मीमा आउने पसिनाले कपालमा भएको प्रोटिनलाई बिगार्ने, ढुसी पर्ने, चायाँ बढ्ने, कपाल सुक्खा हुने, झर्ने र टुक्रिनेजस्ता समस्या निम्त्याउँछ । कपालले हाम्रो व्यक्तित्व र आत्मविश्वास बढाउने भएकाले यसलाई राम्रो हेरचाहको आवश्यकता पर्ने उनी बताउँछन् ।

कसरी गर्ने त कपालको हेरचाह ?

  • कपाल नुहाउनुभन्दा आधा घण्टाअगाडि नरिवलको तेलले मालिस गर्ने
  • कपाललाई राम्रोसँग स्याम्पो कन्डिसनरले धुने
  • सुक्खा कपाल हुनेले नुहाएपछि नरिवल वा जैतुनको तेल लगाउने
  • रातो मासु, समुद्री खाना, अण्डा, दुग्धजन्य पदार्थ, सिमी, दाल, बदाम र बिउजस्ता प्रोटिनयुक्त खानामा ध्यान दिने
  • कलेजो, अण्डा, बदाम, ओखर, माछा, आलु र गेडागुडीजस्ता बायोटिन पाउने खाना खाने
  • आइरन, जिङ्क, भिटामिन ए, सी र ई पाइने खाना खाने
  • कपालमा आइरन नगर्ने, जेल, हेयर कलरजस्ता केमिकल पनि प्रयोग नगर्ने

कपालको प्रकारअनुसार हेरचाह

  • चिल्लो स्ट्रेट कपाल

चिल्लो स्ट्रेट कपाललाई हरेक दिन धुनुपर्छ । कपालमा भएको चिल्लोपना हटाउनका लागि फेदमा मजाले स्याम्पो गर्ने र तलको भागमा कन्डिसनर लगाएर धुने । चिल्लो कपाल हुनेले एन्टी फंगल भएको केटोकोनाजोल स्याम्पो प्रयोग गर्नुपर्छ ।

  • कर्ली सुक्खा कपाल

कर्ली सुक्खा कपाललाई सातामा एकपटक मात्र धुनुपर्छ भने कन्डिसनर कपाल नुहाउँदा हरेकपटक सबैतिर लगाउनुपर्छ । यस्ता कपाल हुनेले कन्डिसनर र तेलको बढी मात्रामा प्रयोग गर्नुपर्छ ।

  • बाक्लो कपाल

बाक्लो कपाल हुनेले नुहाएका बेलामा स्याम्पो र कन्डिसनर लगाउनुअघि पातलो दाँत भएको काइँयोले छुट्याउनुपर्छ

किन गर्ने कपालको हेरचाह ?

  • कपाल झर्दैन र टुक्रिएर जाँदैन
  • संक्रमणको सम्भावना कम हुन्छ
  • जुम्राजस्ता किटाणुको जोखिमबाट बच्निछ
  • कपालको प्राकृतिक सुन्दरता बढ्छ
  • टाउकाको छाला पनि जोगिन्छ

सबैजनाको कपाल एकै प्रकारको हुँदैन । त्यसैले कपालको स्वरूप हेरी हेरचाह गर्नुपर्छ । कपालको हेरचाह सौन्दर्य मात्र नभई स्वस्थ रहनु पनि हो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः