उपचार खर्चका विषयमा यातायात कम्पनी र अस्पतालबीच विवाद, दुर्घटनाका सात घाइते बन्धक

Highlights

  • बेड, औषधि, सिटिस्क्यान र एमआरआई गरी करिब ५५ लाख उपचारमा लागेको अस्पतालको भनाइ, अस्पतालले बढी रकम लिन खोजेको यातायात व्यवसायीको आरोप

जनकपुरधाम — सिरहा गोलबजारकी प्रमिला साह शनिबार बिहान जनकपुर न्युरो अस्पतालको शय्यामा सामान्य अवस्थामा थिइन् । बेड नम्बर १३ मा रहेकी प्रमिलाले हिँडडुल गर्दै सामान मिलाइन् । पानी खाँदै वार्डमा खटिएका स्वास्थ्यकर्मीलाई सोधिन्, ‘कहिया जाइदेबै ?’ (कहिले जान दिनुहुन्छ) चिकित्सकले भनेपछि मात्रै जान पाउने जवाफ पाइन्।

प्रमिलाले सबै कुरा ठीक हुँदाहुँदै किन जान नदिएको भन्दै पुनः प्रश्न गरिन्। स्वास्थ्यकर्मीले केही जवाफ दिएनन्।

प्रमिला २३ दिनदेखि अस्पतालमा भर्ना छिन्। अस्पतालका चिकित्सक डा. सञ्जय मण्डलका अनुसार प्रमिलाको छातीमा चोट लागेर रगत जमेको थियो। तर, अहिले उनी ठीक रहेको डा. मण्डलले स्वीकारे। ‘उहाँको अवस्था ठीक छ । अहिले कुनै प्रकारको जोखिम छैन,’ उनले भने, ‘अब एक/दुई दिनमा डिस्चार्ज भइहाल्छ ।’

अस्पताल परिसरमै भेटिएका अर्का बिरामी बिन्देश्वरी नायकका छोरा अशोकले चार दिनदेखि अस्पतालले घर जान नदिएको आरोप लगाए । ‘चार दिनअघि डिस्चार्ज गर्‍यो । म सिरहा कर्जनहाबाट त्यही दिन लिन आएँ,’ अशोकले भने, ‘अब अस्पतालले जान दिएको छैन ।’

चिकित्सक डा. अजय राउतले बिन्देश्वरीको स्पाइन सर्जरी भएको बताए । ढाडको हड्डी भाँचिएकी उनी पनि सामान्य अवस्थामा रहेको डा. राउतको भनाइ छ । गत चैत १ मा जनकपुरबाट राजविराज जाँदै गरेको ना ५ ख १४४१ नम्बरको धनलक्ष्मी ट्राभल्सको बस दुर्घटना हुँदा ४१ जना घाइते भएका थिए । अन्य डिस्चार्ज भए पनि सात जना घर जान पाएका छैनन् ।

यातायात कम्पनी र अस्पतालबीच खर्च बेहोर्ने विषयमा विवाद हुँदा उनीहरू अस्पतालमै बस्नुपरेको हो । बिरामीलाई जनकपुर न्युरो अस्पतालले बन्धक बनाएर राखेको जानकी यातायात प्रालिका अध्यक्ष मनोज चौधरीको आरोप छ । अस्पतालका अधिकारीले भने यातायात कम्पनीले खर्च नबेहोरी उल्टै अस्पतालका सुरक्षा गार्डमाथि कुटपिट गरेको बताएका छन् ।

अस्पतालले ६० लाखको बिलसहित पैसा तिर्न ताकेता गरेपछि दुवै पक्षबीच विमति सुरु भएको थियो । शुक्रबार यातायात प्रालिका तर्फबाट लेखापाल रामवरण यादव ५ लाख रुपैयाँ बुझाउन गएका थिए । अस्पतालले थप पैसा मागेपछि यातायात कम्पनीका अध्यक्ष चौधरीसहित एक बस व्यक्ति अस्पताल पुगेर सुरक्षा गार्डलाई कुटपिट गर्दै तोडफोड गरेका थिए ।

अध्यक्ष चौधरीले बिरामी र पैसा लिएर गएको व्यक्तिलाई बन्धक बनाउँदा विवाद भएको बताए । अस्पतालसँग नियमित कुराकानी भइरहेको उनले सुनाए । ‘चार दिनदेखि बिरामीलाई बन्धक बनाएको छ,’ उनले भने, ‘जबकि हामीसँग नियमित कुराकानी भइरहेको छ । शुक्रबार पैसा बुझाउन गएका लेखापाल रामवरण यादवलाई बन्धक बनाइयो ।’ त्यसपछि आक्रोशित मजदुरहरूले विवाद गरेको उनले स्वीकार गरे ।

अस्पताल प्रशासनका कर्मचारी अजय राउतले शुक्रबारसम्म बेड, औषधि, सिटिस्क्यान र एमआरआई गरी करिब ५५ लाख उपचारमा लागेको उनले दाबी गरे । जसमध्ये बस व्यवसायीले अस्पताललाई १३ लाख बुझाएका छन् । बाँकी पैसा बुझाउनभन्दा गुन्डाशैलीमा तोडफोड गरेको उनले सुनाए । ‘गार्डलाई पिट्दै फार्मेसी र एक्स–रेसहित बाटोमा पर्ने विभागमा तोडफोड गरिएको छ,’ उनले भने, ‘क्षतिको यकिन गर्दै छौं । यस विषयमा कानुनी उपचारमा पनि जान्छौं ।’

अध्यक्ष चौधरीले अस्पतालले मनोमानी बिल बनाएको आरोप लगाए । ‘एम्बुलेन्स चालकसँग पनि उनीहरूको मिलेमतो छ । सबै बिरामीलाई एम्बुलेन्स चालकले सरकारी अस्पतालमा नलगेर न्युरोमा लग्यो,’ उनले भने, ‘अब बिलमा मनपरी हिसाब गरेको छ । ३४ जना भोलिपल्टै डिस्चार्ज भएका छन् । सात जनाको उपचारमा ५५ लाख कसरी भयो ?’

जिल्ला प्रहरी धनुषाका डीएसपी बरुणबहादुर सिंहले दुवै पक्षलाई आगामी सोमबार छलफलमा बोलाएको जानकारी दिए । ‘दुवै पक्षबाट फरक–फरक कुरा आयो । सोमबार बसेर हिसाब टुंगो लगाउने सहमति भएको छ,’ उनले भने, ‘सामान्य अवस्थामा रहेका बिरामीलाई डिस्चार्ज गर्न भनेका छौं ।’

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः