१० काइदा, कसरी आनन्दित रहने ?

spot_img
मान्छे अधिकांश समय क्रियाशील हुन्छ, कडा मेहनत गरिरहेको हुन्छ । यसरी क्रियाशील हुँदा प्रतिमिनेट हजारौँको संख्यामा कोषहरू नष्ट हुन्छन् । दिनभर काम गर्दा लाखौँको संख्यामा कोशिका नष्ट हुन्छ।
कोशिका नष्ट हुनेसँगै थोरै मात्रामा निर्माण पनि हुन्छ तर धेरै ऊर्जा काममा खर्च भएको हुनाले नष्ट भएका कोशिकाको ठाउँमा नयाँ कोशिका बन्न पाउँदैन । तर जब हामी रिल्याक्स भएर बस्छौँ आराम गर्छौँ, त्यो बेला ऊर्जा खर्च हुँदैन र शरीरले नयाँ कोशिका बनाउन पाउँछ। त्यसैले शरीरलाई आराम दिन यी १० ‘रिल्याक्स आइडिया’ अपनाउन सकिन्छ।

१.सकारात्मक रहने

सकारात्मकताले सधैँ अनि सबैलाई खुसी दिन्छ । सकारात्मक भावनामा प्रेम, आदर, अनुग्रह, आनन्द पर्छन् । सकारात्मक भावले हामीमा ऊर्जा बढाउँछ र रिल्याक्स फिल गराउँछ । त्यसैले सकारात्मक सोचका लागि सकारात्मक वातावरण सिर्जना गर्नु महत्त्वपूर्ण हुन्छ।

२.रचनात्मक रहने

रचनात्मक अथवा सिर्जनशील व्यक्तिहरू जीवन र कार्यक्षेत्रमा सफल हुन्छन् । लेखन, चित्रकला, सङ्गीत, नृत्यजस्ता रचनात्मक कार्य अन्तर्गत विभिन्न प्रकारका गतिविधिहरू आउँछन् । यी सबै रचनात्मक गतिविधिहरू हुन्, जसले हाम्रो मुडलाई सक्रिय राख्छ र हामीलाई स्वतन्त्र महसुस गराउँछ।

रचनात्मक कार्यले हाम्रो दिमागको रचनात्मक शक्तिको विकास गर्छ, जसले सोच विचार र अभिव्यक्ति क्षमतालाई बढाउँछ । साथै त्यसले राम्रो निर्णयहरू लिन र हाम्रो समस्या समाधान गर्ने क्षमताहरू बढाउन मद्दत गर्छ।

३.घरपालुवा जनावरसँग खेल्ने

घरपालुवा जनावरहरूले सहानुभूति, हेरचाह र जिम्मेवारीको भावना विकास गर्छन् । तिनीहरूले एक्लोपन कम गर्न र तनाव कम गर्न मद्दत गर्छन् । घरपालुवा जनावरहरूसँग खेल्दा खुसी र आत्मविश्वास बढ्छ । त्यसैले घरमा पालिएका कुकुर, बिरालो तथा अन्य जनावरसँग खेलेर ऊर्जा बढाउन सकिन्छ ।

४.सङ्गीत सुन्ने

गीत-सङ्गीतले हाम्रो स्वास्थ्यमा पनि फाइदा पुर्‍याइरहेको हुन्छ । गीत-सङ्गीतको मधुर ध्वनिले हाम्रो दैनिकी आनन्दमय बनाउनुका साथै स्वास्थ्यमा फाइदा पुग्ने विभिन्न अध्ययनहरूले बताएका छन्। अध्ययन अनुसार गीत-सङ्गीतले तनाव कम पार्नेदेखि सिर्जनशील बनाउन समेत मद्दत गरिरहेको हुन्छ।

५.प्रकृतिमा समय बिताउने

प्रकृतिसँग कम्तिमा दिनको ३० मिनेट जति समय बिताइयो भने प्रेसर घट्नुका साथै डिप्रेसन पनि घट्ने एक अध्ययनले बताउँछ । घरछेउको पार्क होस् या घरपछाडिको सानो हरियाली ठाउँ या बगैँचामा प्रकृतिलाई महसुस गर्न सकिन्छ । स्वच्छ हावा पाउन सकिन्छ । यसले दिमागलाई ताजा राखेर मुडलाई पनि सुधार्छ ।

६.पर्याप्त निद्रा

आराम र राम्रो स्वास्थ्यका लागि पर्याप्त निद्रा धेरै महत्त्वपूर्ण हुन्छ । किनकि यसले हाम्रो शरीर र दिमागलाई राम्रोसँग काम गर्न मद्दत गर्छ । जब कोही व्यक्ति थकित भएर सुत्छ, निद्रा पुगेर उठ्दा शरीरको सारा थकान मेटिन्छ । शरीर, इन्द्रीय एवं मनमा एक खालको नयाँ ऊर्जा, स्फूर्ति एवं उत्साह भरिन्छ ।

७.व्यायाम गर्ने

शारीरिक कसरत जुनै किसिमको भए पनि यसले शरीरलाई स्वस्थ र बलियो रहनका लागि मद्दत गर्छ । तनावबाट छुटकारा पाउन दैनिक योग र व्यायाम गर्न सकिन्छ । दैनिक योग अभ्यासले चिन्ता र तनावको समस्या कम गर्न फाइदाजनक साबित हुन्छ ।

८.सोसल मिडियाको प्रयोग कम गर्ने

सोसल मिडिया प्लेटफर्मको अत्याधिक प्रयोगले मानिसहरूको उत्पादनशीलतामा गिरावट आउने मात्र नभई मानसिक स्वास्थ्य तथा जीवनका सम्बन्धहरूमा समेत नकारात्मक असर पर्ने गरेको छ । त्यसैले आफ्नो डिजिटल जीवनमा नियन्त्रण राखेर आफ्ना लागि रिल्याक्स टाइम निकाल्न सकिन्छ ।

९.घाम ताप्ने

सूर्यका किरणले रोग प्रतिरोधक क्षमता बलियो बनाउँछ । जसले विभिन्न रोगहरूको जोखिमबाट पनि बचाउँछ । घामले शरीरमा मेलाटोनिन हर्मोन उत्पन्न गराउँछ । राम्रो निद्राका लागि त्यो हर्मोन आवश्यक हुन्छ । निद्रा राम्रो हुँदा शरीर फुर्तिलो हुन्छ । साथै यसले मानसिक तनाव पनि कम गराउँछ ।

१०.मसाज गर्ने

मसाज शरीरलाई आराम दिने थेरापी हो । जसमा शरीरको मांसपेशी र छालालाई हातले स्पर्श गरेर आराम दिने गरिन्छ । मसाज मांसपेशीको दुखाइबाट राहत दिलाउँछ । मसाज गर्दा मांसपेशीमा यसले फाइदा पुर्‍याउँछ । मसाजले छालामा रक्त सञ्चार बढ्दा अक्सिजन प्रवाह राम्रो हुन्छ । हेड मसाज गर्दा टाउको दुख्ने समस्या पनि कम हुन्छ ।

 

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः