प्रस्तावित वीरगन्ज विश्वविद्यालयका लागि उठाइएको रकम हिनामिना

spot_img

वीरगन्ज,६असाेज: दुई दशकअघि वीरगन्वमा विश्वविद्यालय बनाउने अभियानमा सहयोग गर्न हरिखेतान बहुमुखी क्याम्पसका कर्मचारी र शिक्षकहरूले एक दिनको तलब सहयोग गरेका थिए । तर, यति लामो समय बित्दा पनि यो रकम सदुपयोग नभएपछि क्याम्पसका शिक्षक तथा कर्मचारी निराश छन् । त्यतिमात्र होइन, विश्वविद्यालय स्थापनाका लागि बनेको समितिको अगुवाइ गरेका क्याम्पसका तत्कालीन प्रमुख नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा तानिएपछि उनीहरू थप सशंकित बनेका छन् ।

वीरगन्जमा विश्वविद्यालय बनेमा वीरगन्जकै नाम रहने उत्साह थियो क्याम्पसमा अध्यापन गराउने अध्यापक र कर्मचारीलाई । उक्त क्याम्पसलाई नै आधार बनाएर वीरगन्ज विश्वविद्यालय बनाउने प्रस्तावले उनीहरू थप उत्साहित थिए । तर, वीरगन्ज विश्वविद्यालयको सपनामात्र सेलाएन, स्वयं अगुवा नै अनुसन्धानमा तानिएको सूचनाले क्याम्पसका अध्यापक र कर्मचारी निराश मात्र होइन, लज्जित महसुस गरिरहेका छन् ।

हालका क्याम्पस प्रमुख किशोरी राय त्यसवेला पनि क्याम्पसमा अध्यापन गर्थे । वीरगञ्जमा विश्वविद्यालय बन्दा वीरगञ्जकै शान हुन्छ भन्ने उनलाई लागेको थियो । विश्वविद्यालयलाई तलब योगदान गर्नेहरूको सूचीमा उनको पनि नाम थियो । तर, अहिलेसम्म यो विषय अलमलमा मात्र सीमित नभई रकम हिनामिनाको कुरा बाहिरिएपछि आफूहरू निराश भएको उनले बताएका छन् ।

‘वीरगञ्जमा विश्वविद्यालय बन्ने कुरा वीरगञ्जकै शानको विषय थियो । स्थानीय शिक्षाको विकासमा पनि यसले ठूलो योगदान गर्छ भन्ने लागेको थियो । त्यसैले हामीले उत्साहित भएर सहयोग गरेका थियौं,’ रायले भने, ‘तर यति लामो समय बितिसक्दा पनि विषय अलमलमा रहनु र अहिले रकमको विषयमा अनुसन्धानसम्म हुनुले हामी निराश भएका छौं ।’

विश्वविद्यालय स्थापनाका लागि पर्साका तत्कालीन ८२ गाविसमध्ये धेरैले रकम सहयोग गरेका थिए । बारा र पर्साबाट निर्वाचित तत्कालीन संविधानसभा सदस्यहरूले समेत विश्वविद्यालयका लागि रकम हस्तान्तरण गरेका थिए । स्थानीय उद्योगी, व्यापारी तथा विभिन्न सामाजिक संघसंस्थाले अभियानमा आर्थिक सहयोग गरेका थिए । अभियानका क्रममा २ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको बताइन्छ ।

बारा र पर्साका उद्योगी–व्यवसायीको संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले मात्रै ५१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर, जग्गा खरीद भएपछि मात्र रकम उपलब्ध गराउने शर्त राखिएका कारण संघबाट रकम हस्तान्तरण नभएको संघका पूर्वअध्यक्ष प्रदीप केडियाले बताए ।

जग्गा किनेपछि रकम दिने भन्ने निर्णय भएको थियो । जग्गा खरीद नै नभएपछि हाम्रो तर्फबाट रकम दिनुपर्ने अवस्था आएन,’ केडियाले भने । त्यतिबेला उनी संघका कोषाध्यक्ष थिए । विश्वविद्यालय सञ्चालनका लागि पर्साको गण्डक क्षेत्रनजिक रहेको चिनी मिलको जग्गा प्रयोग गर्ने सम्भावनाबारे त्यसबेला व्यापक चर्चा भएको थियो । जग्गा व्यवस्थापन हुन नसकेपछि विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ्न सकेन ।

सीआईबीको अनुसन्धान

विश्वविद्यालय स्थापनाका लागि संकलित रकम वीरगञ्जस्थित कुमारी बैंकको खातामा राखिएको थियो । अहिले सोही खाताबाट रकम निकालिएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार वीरगञ्ज विश्वविद्यालयको नाममा कुमारी बैंकको वीरगञ्ज शाखामा रहेको खाताबाट तत्कालीन हरिखेतान क्याम्पसका प्रमुख भगवानप्रसाद यादवले चेकमार्फत रकम निकालेको विषयमा अनुसन्धान भइरहेको हो । कीर्ते गरी रकम निकालेर व्यक्तिगत रूपमा अपचलन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सीआईबीले अनुसन्धानको फाइल जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । ‘बैंकसँग आवश्यक विवरण मागेर बुझ्ने काम भइरहेको छ । अनुसन्धानका क्रममा प्राप्त तथ्यका आधारमा थप प्रक्रिया अघि बढ्छ,’ भट्टराईले बताए ।

यसबारेमा यादवसँग बुझ्न खोज्दा उनी बोल्न चाहेनन् । उनलाई सोध्दा उनले ‘भेटेर कुरा गरौंला’ भन्दै फोन काटे । त्यसपछि उनी सम्पर्कमा आएनन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले पनि गत साउन १ गते कुमारी बैंकको वीरगञ्ज शाखालाई पत्र लेखेर विश्वविद्यालयको खातासम्बन्धी विवरण मागेको थियो । बैंकले साउन ११ गते प्रशासनलाई पठाएको जवाफमा वीरगञ्ज विश्वविद्यालयको नाममा रहेको ००३०००३८९१८००००१ नम्बरको चल्ती खाताबाट भगवानप्रसाद यादवले चेकमार्फत रकम झिकेको विवरण उपलब्ध गराएको छ ।ओमप्रकाश खनाल/आर्थिक अभियान

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः