
वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३, भलुहीमा सञ्चालनमा रहेको म्यागनस फर्मा प्रालिले १ अर्ब रुपैयाँ बराबरको लगानी थप्दै उत्पादन विस्तार गरेको छ। नयाँ प्रविधिको प्रयोग गर्दै नेपालमै पहिलो पटक नेजल ड्रप उत्पादन सुरु गरिएको छ, जुन आगामी वैशाख पहिलो सातासम्म बजारमा आउने बताइएको छ।
औषधि उत्पादनमा प्रविधिगत विस्तार
उद्योगका प्रबन्ध निर्देशक सुदीपप्रकाश मास्के का अनुसार, म्यागनस फर्माले पछिल्लो दुई वर्षदेखि भेनेजुएला र मरिससमा वार्षिक १–१ करोड रुपैयाँ बराबरको औषधि निकासी गर्दै आएको छ। नेपालमा खपत हुने कुल औषधिको ९० प्रतिशत भारत र अन्य मुलुकबाट आयात हुने गरेकाले सो आयात प्रतिस्थापन गर्न उद्योगले इन्जेक्टेबल प्लान्ट स्थापना गरेको उनले जानकारी दिए।
नबिल बैंकको ऋण लगानीमा अमेरिकी र भारतीय प्रविधियुक्त अत्याधुनिक मेशिनहरू जडान गरी परीक्षण पूरा गरिसकिएको छ। उद्योग व्यवस्थापन समूहका अनुसार, नयाँ प्लान्टबाट इन्जेक्टेबल औषधि (भाइल र एम्पुल), आँखा र कानका ड्रप, तथा नाकमा लगाउने नेजल ड्रप उत्पादन गरिने छ।
व्यापक भौतिक पूर्वाधार विकास
मंगलबार साँझ वीरगञ्जको होटल भिस्वामा आयोजित पत्रकार सम्मेलनमा उद्योगका सञ्चालक समितिका अध्यक्ष सन्दीप तुल्स्यानले नयाँ प्लान्टसँगै ७,८८६ वर्गफिट क्षेत्रफलको वातानुकूलित आधुनिक वेयरहाउस निर्माण गरिएको जानकारी गराए। उनले औषधिको गुणस्तर जोगाउन उन्नत भण्डारण प्रणाली आवश्यक पर्ने भएकाले सुविधासम्पन्न गोदाम निर्माण गरिएकोबताए।
औषधि उद्योगमा उल्लेखनीय आर्थिक विस्तार
उद्योगका आर्थिक निर्देशक विनित लोहिया का अनुसार, सन् २००९ देखि बजारमा औषधि बिक्री वितरण सुरु गरेको म्यागनस फर्माको हालको कुल पूँजी करिब २५ करोड रुपैयाँ पुगेको छ। हाल उद्योगमा ३ सयभन्दा बढी कामदारले प्रत्यक्ष रोजगारी** पाएका छन्।
गत आर्थिक वर्षमा १ अर्ब १६ करोड रुपैयाँको कारोबार गरेको उद्योगले चालू आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४० करोड रुपैयाँ कारोबार गर्ने लक्ष्य राखेको छ। कम्पनीको उद्देश्य नेपालका शीर्ष ५ औषधि उद्योगभित्र पर्नु रहेको सञ्चालक समितिले जनाएको छ।
#स्वास्थ्य क्षेत्रमा आर्थिक क्रान्ति ल्याउने लक्ष्य
मास्केले औषधि व्यवस्था विभागबाट प्रारम्भिक चरणमा २० वटा ब्रान्डको उत्पादन अनुमति प्राप्त भइसकेको जानकारी गराउँदै आगामी दिनमा उत्पादन थप विस्तार गरिने बताए। उनका अनुसार, मुटु, छाती, मधुमेह, मानसिक रोगका लागि ट्याबलेट र क्याप्सुल उत्पादन गर्दै आएको उद्योगले इन्जेक्टेबल औषधिको उत्पादन सुरु गरेपछि औषधि उद्योगमा आर्थिक क्रान्ति ल्याउनेछ।
नेपालमै पहिलो पटक उत्पादन हुन लागेको नेजल ड्रप र अन्य नयाँ औषधिहरूले आयात प्रतिस्थापन गर्दै देशको औषधि उद्योगलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।




