
जल र वायुमा आउने परिवर्तनलाई हामी जलवायु परिवर्तन भन्छौं । प्राकृतिक रूपमा चलिरहने एउटा प्रक्रिया भए पनि मानवीय क्रियाकलापले यो चक्रलाई खलबल्याएको छ । फलस्वरूप हामी मानवीय कारणबाट सिर्जित जलवायु परिवर्तनका असरहरू भोग्न थालिसकेका छौं ।
जलवायु परिवर्तनले पार्ने प्रभाव र वातावरणीय अवस्थाको सुधार गर्न केवल एउटा सरकारको मात्र प्रयासले सम्भव हुँदैन । सरकारमाथि दोष लगाएर यो समस्या समाधान हुँदैन । यसको व्यवस्थापनका लागि पृथ्वीका हरेक मानिसले गर्नैपर्ने हुन्छ ।
जलवायु परिवर्तनले निम्त्याउने समस्याहरू झन् जटिल हुँदै छन् । सामाजिक सञ्जाल तथा डिजिटल प्लाटफर्महरूबाट हामी सरकारका कारबाहीहरूलाई दोष लगाएर यो समस्याको समाधान खोज्दै छौं भने गलत हुन्छ ।
जलवायु परिवर्तनका प्रभावहरूलाई व्यक्तिगत कुन–कुन ठाउँमा कसरी अनुकूलन गर्न सकिन्छ भन्नेमा हामी केन्द्रित हुन जरुरी छ । मुख्य कुराचाहिँ हामीले दैनिक रूपमा उपभोग गर्ने वस्तुहरूमा कसरी दिगोपना ल्याउन सकिन्छ भन्ने हो । घातक रूपमा अघि बढिरहेको जलवायु परिवर्तनको प्रभावलाई कम गर्दै विश्वका सबै सरकारहरू सचेत हुनुपर्ने देखिन्छ ।
वैश्विक दृष्टिकोणले हेर्दा जलवायु परिवर्तनको मुद्दा मानव जातिको विकास र उसले गरेको विभिन्न सभ्यताका चरणहरू खासगरी विगत २ सय वर्षदेखि अहं हुँदै आएको छ । यसको कारक तत्त्वको रूपमा जीवाश्म इन्धनको अधिक प्रयोग नै प्रमुख देखिएको छ । अत्यधिक प्रयोगबाट उत्सर्जित हरितगृह ग्यासले वायुमण्डललाई दूषित पार्दै रासायनिक परिवर्तन पनि गराएको अवस्था छ ।
उदाहरणका लागि हाम्रो वायुमण्डलमा कार्बनडाइअक्साइडले हरितगृह ग्यास प्रभाव, कार्बन चक्र, कार्बन संश्लेषण र सामुद्रिक कार्बन चक्रमा आदिकालदेखि नै महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । कार्बनडाइअक्साइड पृथ्वीको वायुमण्डलमा रहेका ३ वटा हरितगृह ग्यासमध्येको महत्त्वपूर्ण ग्यास हो ।
जसको घनत्व सन् २०२४ सम्म आइपुग्दा (आणविक आधारमा) १० लाखमा ४२७ पुगेको छ । यो भनेको ३३४१ गिगाटन कार्बनडाइअक्साइड वायुमण्डलमा थुप्रिनु हो ।
यो परिमाण औद्योगिक क्रान्ति सुरु हुँदाको अवस्थाभन्दा ५० प्रतिशत बढी हो । १८औं शताब्दीको मध्यदेखि अगाडि करिब १० हजार वर्षअघिसम्म कार्बनको मात्रा २८० प्रति १० लाख (आणविक आधारमा) थियो ।
वायुमण्डलमा कार्बनडाइअक्साइडमा भएको वृद्धिको मुख्य कारक कुरा भनेको अत्यधिक जीवाश्म इन्धनको जलनबाट हुने उत्सर्जन नै हो । यसको उत्सर्जनका कारण २०२४ सम्म आइपुग्दा जल, स्थल सबैतिर पृथ्वीको औसत तापक्रम १.५५ डिग्री सेल्सियसले बढ्दै गएको छ ।
औद्योगिक युग सुरु हुँदाको पृथ्वीको औसत तापक्रम करिब–करिब १३.८४ डिग्री सेल्सियस भएको अनुमान गरिएको छ ।
यसरी वर्तमान वैश्विक तापक्रम आधार समय औद्योगिक युगको सुरुभन्दा १.५ डिग्री सेल्सियसको थ्रेसहोल्ड पार गरी पेरिस सम्झौताको मापदण्डसमेत उल्लंघन गर्ने अवस्थामा पुगेको छ ।
भविष्यमा पनि बढ्ने क्रम जारी नै रहन्छ कि रहँदैन भन्ने कुरा निश्चित छैन । तर, सबै तथ्यहरूले तापक्रम बढ्ने नै देखिन्छ ।
संसारभर सबै रेकर्ड गरिएका तापक्रम मापन केन्द्रका तथ्यांकहरूले सन् २०२४ को वर्षचाहिँ तापक्रम मापन गर्न लागेको १८५० देखिको सबैभन्दा गरम वर्ष भएको देखाएको छ । यसले मानव जाति र समस्त जैविक मण्डलको विनाशको खतराको संकेत देखाएको छ ।
तसर्थ मानव जातिले अब यो प्रक्रियालाई कसरी व्यवस्थित गर्दछ, सम्पूर्ण भविष्य त्यसैमा निर्भर हुने देखिएको छ । यसको रोकथाम कुनै एउटा देशको प्रयासबाट मात्र हुन सक्ने कार्य नभएर यो विश्वका हरेक मुलुकवासीबाट गरिनुपर्ने देखिन्छ । यो महान् कार्यमा विश्वका सम्पूर्ण देशहरू अनिवार्य रूपमा लाग्नुपर्छ । त्यस अर्थमा हाम्रो सिंगो पृथ्वी र यहाँ आश्रित जीवहरूको भविष्य मानव जातिको हातमा छ । यसका लागि हामी छिटो र सामूहिक रूपमा जति चाँडो काम गर्छौं, त्यसमा निर्भर हुने देखिन्छ । तसर्थ विश्वको तापक्रम कम गर्ने महान् कार्यमा लागिएन भने हाम्रो पृथ्वीका पर्वत, समुद्र, जलीय चक्रमा विशाल परिवर्तन हुने निश्चित छ । अहिले यसका प्रारम्भिक प्रभावहरू पनि देख्न सुरु भइसकेको छ ।
हालै अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (ईसीमोड) ले गरेका अध्ययनअनुसार नेपालका हिमनदीहरू द्रुतगतिमा पग्लिँदै गइरहेका छन् । विश्व तापक्रम वृद्धिका कारण हाम्रा हिमनदीहरू, हिमाल र तिनमा रहेको ८० प्रतिशत हिउँ सन् २१०० सम्म पग्लिएर जाने देखिएको छ । यस्तै, हिमालयका हिमनदीहरू आजभन्दा ४००–७०० वर्ष अगाडि भएका साना हिमयुगका भन्दा ४० प्रतिशतले खुम्चिसकेको अवस्था छ ।
विगत केही दशकमा यो खुम्चिने दर अरू पर्वतमालाहरूको भन्दा द्रुतगतिले बढेको ईसीमोडको प्रतिवेदनमा पाइएको छ । यसको कारण हिमनदी पग्लिएर बढ्ने पानीको मात्रामा सन् २०५० सम्म वृद्धि हुने र सोपछि विस्तारै कम हुँदै जाने अनुमान गरिएको छ । यसले गर्दा हाम्रो हिमालयको सम्पूर्ण पारिस्थितिकीय प्रणालीमा परिवर्तन आउनुका साथै हामीले पाउने वातावरणीय सेवाहरू (स्वच्छ हावा, शुद्ध पानी, खाना) पनि बिथोलिने खतरा छ ।
चीनको चाइनिज एकेडेमी अफ साइन्सेसमा रहेको तिब्बतीयन रिसर्च प्लेटुमा कार्यरत नेपाली वैज्ञानिक डीबी कट्टेलसहितले सगरमाथा क्षेत्रमा गरेको अध्ययनले वैश्विक तापक्रममा वृद्धिका कारण ठूलो मात्रामा हिउँले ढाकेको क्षेत्र घटेको पाइएको देखाएको छ । त्यस्तै कम वर्षाका कारण पनि हिउँ थुप्रिने दर कम भएको पाइएको छ । यसबाट हिमालयको तलको भागमा हामीले विकास गरेको ऊर्जा केन्द्रहरूमा कस्तो प्रभाव पर्छ ? बाढीपहिरोका कारण कति जनधनको क्षति हुन्छ ? यसको लेखाजोखा गर्न सकिने अवस्था नै छैन ।
यसले प्रभाव पार्ने सबैभन्दा ठूलो खतरा भने जल सुरक्षा हो । जलस्रोत कम भएपछि खाद्य उत्पादनमा सिधै प्रभाव पर्दछ । ऊर्जा सुरक्षाको भविष्य कस्तो हुन्छ ? नेपाल र अन्य देशहरूले जलविद्युत्मा धेरै लगानी गरेको छ । हिमनदी सुकेपछि मूल सुक्न जान्छन् । जलविद्युत् बाँधहरूमा पानीको भण्डारण कम हुन जान्छ । अन्य अध्ययनले देखाएअनुसार १ प्रतिशत मूल र नदीको बहावमा कमी आएमा ऊर्जा उत्पादनमा ३ प्रतिशतले कमी आउने देखाएको छ । तसर्थ दीर्घकालका लागि सौर्य ऊर्जामा लगानी बढाउन आवश्यक देखिन्छ ।
त्यसैगरी तापक्रम वृद्धि, अत्यधिक तथा विषम वर्षा र अन्य घटनाहरूका कारण मानव र पशुपन्छीहरूमा विभिन्न रोगहरू जस्तै, डेंगु, मलेरिया, लम्पी स्किनजस्ता रोगहरू बढिरहेका छन् । जसले ठूलो जनधनमा र उत्पादन क्षमतामा क्षति पुर्याउने निश्चित छ । साथै, हिमालयको तल्लो तटीय क्षेत्रमा बस्ने देशहरूले बाढीबाट हुने नोक्सानीबाट बर्सेनि २.५ देखि ४ प्रतिशतभन्दा बढीसम्मको कुल गार्हस्थ्य उत्पादनको आम्दानी खर्च गर्नुपर्ने अवस्था आउने अध्ययनहरूले देखाएका छन् ।
यी जलवायु परिवर्तनका कारण सिर्जित समस्या र मुद्दाहरूलाई समयमै यथोचित सम्बोधन गर्नुपर्ने अवस्था छ । यसका लागि हामी एक्लैले सम्बोधन गर्न सम्भव छैन । यसर्थ विश्व समुदायलाई सहभागी गराई एउटा तात्त्विक र अर्थपूर्ण रूपमा हिमाल बचाउने रणनीति बनाउन विश्वका राजनेताहरू, वैज्ञानिक र नीति निर्माताहरूको छलफल गर्ने थलोको स्थापना गर्नॅ नेपाललगायत पर्वतीय र हिमाली देशहरूका लागि अनिवार्य भएको छ । यसका लागि सुरु गरिएको ‘सगरमाथा संवाद’ लाई अगाडि बढाउनुपर्ने जरुरी छ । साथै, हिमालयमा हिमालसम्बन्धी र त्यहाँको पारिस्थितिकीय प्रणालीका बारेमा गहन अध्ययन गराउनु जरुरी देखिएको छ ।
यो महान् कार्य हामी नेपालीहरू एक्लैबाट हुने सम्भावना छैन । साथै, यस्तो जलवायुको प्रकोप ल्याउने हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका नै एकदम नगन्य भए पनि सबैभन्दा ठूलो चोटमा हामी परेकाले विश्व समुदायको ध्यान आकृष्ट गरी वैश्विक नीति निर्माता र ख्यातिप्राप्त वैज्ञानिक, नोबल पुरस्कार विजेता, राजनेताहरू सम्मिलित हिमाल र तेस्रो ध्रॅवीय क्षेत्र बचाउन नेपालले हिमालय क्षेत्रका राष्ट्रहरूबीच सहकार्य गरी अगाडि बढ्नुपर्छ । ‘सगरमाथा संवाद’ मार्फत नेपालले हिमाली देशहरूले जलवायु परिवर्तनका कारण भोग्नुपर्ने प्रभाव विश्व समुदायलाई सुसूचित गराउँदै नेतृत्वदायी भूमिका खेल्न सक्ने उपयुक्त अवसर सिर्जना भएको छ ।




