वीरगञ्ज— सुनका गहना चोरी र ठगी आरोपमा पक्राउ परेका दुई पाकिस्तानी महिलाका श्रीमानबाट समेत ठूलो मात्रामा विभिन्न मुलुकका मुद्रा बरामद भएको छ ।
गत ३० चैतमा एकैदिन सदरमुकाम तौलिहवा र चन्द्रौटामा भएको चोरी र ठगीमा पाकिस्तानी नागरिक २० वर्षीया वेबी कलसुम र ४१ वर्षीया सर्वना पक्राउ परेका थिए ।
श्रीमतीहरू पक्राउ परेपछि नेपाल छाडेर भाग्न खोजेका पाकिस्तानी नागरिक २३ वर्षीय इर्फान अली र ४४ वर्षीय सफीउर रहमान साेमबार काठमाडौंबाट पक्राउ परेका हुन् । उनीहरूको साथबाट १७ हजार १३६ अमेरिकी डलर (२५ लाखभन्दा बढी नेपाली रुपैयाँ) बरामद भएको छ । यस्तै, साउदी रियाल ३२५, बंगलादेशी टाका एक हजार ६१५, युएई दिराम ५ र मलेसियन रिंगेट १८५ समेत बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।‘उनीहरूमाथि अनुसन्धान भइरहेको छ । प्रष्ट हिन्दी बोल्ने भएकाले संवाद सहज भएको छ,’ डिएसपी सिंहले भने, ‘तर, धेरै बोल्न मानेका छैनन् ।’ विस्तारै थप कुरा खुल्दै जाने उनले बताए ।
अनुसन्धानका क्रममा सुन चोरीमा उनीहरूको पनि संलग्नता देखिएको छ । श्रीमतीहरूलाई पसलमा सुन चोरी र ठगी गर्न पठाउने र बाहिर बसेर उनीहरू ‘वाच’ गर्ने गरेको प्रहरीको भनाइ छ । कतिपय अवस्थामा सुन चोरेर बाहिरीना साथ भाडाको जीप कारबाट भाग्न सहयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।
श्रीमती पक्राउ परेपछि दुवैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षा चेकजाँच गराई बोर्डिङ पास लिएर विमानतर्फ जाँदै गर्दा पक्राउ परेका हुन् । उनीहरू एयर अरेबियाको विमानमार्फत नेपाल छाड्न लाग्दा गत शनिबार साँझ पक्राउ परेका थिए । प्रहरीले दुवैलाई सोमबार ८ दिनको म्याद लिएर अनुसन्धान गरिरेहको छ । उनीहरू चारैजना प्रहरी अनुसन्धानमा छन् ।
वेबी कलसुमका श्रीमान इर्फान अली हुन् । सर्वनाका श्रीमान सफीउर रहमान हुन् । सफीउर रहमान तेस्रोपटक नेपाल आएका हुन् । इर्फान अली भने पहिलोपटक नेपाल आएका हुन् ।
दुई महिलाले शिवराज नगरपालिका–५, चन्द्रौटास्थित सुरेन्द्र सुनचाँदी पसलमा सुन गरगहना खरिद गर्ने भन्दै गहना हेर्दै व्यवसायीलाई अल्मल्याई ३८ लालको एक जोडा सुनको झुम्का चोरेर भागेका थिए । त्यसअघि सदरमुकाम तौलिहवास्थित बागेश्वरी ज्वेलर्स सुनचाँदी पसलमा ती महिलाले ठगी गरेर भागेका थिए । पसलमा उनीहरूले सुन साट्ने बहानमा एक जोर रिङ र एक थान सिक्री दिएर सक्कली सुन हो भन्दै आफूहरूले एक तोलाभन्दा बढीको गहना मागेर साथीलाई देखाएर २ मिनेटमा आउछौं भन्दै झुक्याएर भागेका थिए ।
एक महिना नेपालमा बस्ने भिसामा ति महिला र पुरुष २४ मार्चमा काठमाडौं आएका थिए । २२ अप्रिलसम्म उनीहरूको भिसा म्याद छ ।




