वीरगञ्ज। प्रहरी-प्रहरीकै बीचमा आर्थिक विवाद चर्किएको छ । यसक्रममा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको नाममा गरिएको आर्थिक कारोबारसँग सम्बन्धित अडियो संवाद प्रहरीस्रोतले नेपाल प्रेसलाई उपलब्ध गराएको छ ।मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी थपलियाको नाममा व्यापारी राजीव महासेठले आफूसहित अन्य व्यापारीसँग रकम संकलन गरेको र उक्त रकम डीआईजी थपलियाद्वारा तोकिएका प्रहरीलाई दिएको व्यहोरा प्राप्त अडियोमा खुलासा भएको छ ।लेनदेनको यो विषय सार्वजनिक चर्चामा आएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय, धनुषाको अपराध अनुसन्धान तथा विश्लेषण शाखामा कार्यरत वरिष्ठ सई सागरसमशेर राणालाई उक्त लेनदेनमा दोषी करार गर्ने प्रयास भयो । राणाले आफूलाई लाञ्छना लगाउने डीआईजीको प्रयासबाट जोगिन व्यापारी महासेठलाई फोन गरेको अडियो संवादमा झल्किन्छ ।वरिष्ठ सई राणालाई उनको मोबाइलमा सम्पर्क गर्दा स्वीच अफ थियो । यो विवादका कारण जनकपुरघाममै रहेको प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीबीच तिक्तता उत्पन्न भएको छ । नेपाल प्रेसले धनुषा प्रहरी प्रमुख रुगमबहादुर कुवरलाई सम्पर्क गर्न खोज्दा उनी पनि सम्पर्कमा आएनन् ।प्रहरीस्रोतका अनुसार सई जयलाल यादव र वरिष्ठ सई गोपाल थापा मगर आर्थिक संकलनकार्यमा सक्रिय थिए । त्यसमध्ये वरिष्ठ सई मगरलाई प्रहरी उच्च नेतृत्वकै परिवारले पठाएको चर्चा छ ।
घटना के हो ?
चैत १ गते एक व्यापारीको भन्सार कारोबार नसुल्झिएको सामान वरिष्ठ सई मगरले बरामद गरे । यो खबर काठमाडौँमा उच्चपदस्थ प्रहरीसम्म पुग्यो । त्यसपछि डीआईजी थपलियाले वरिष्ठ सई मगर र सई यादवलाई जोगाउन प्रहरी चौकी फुलगाका कार्यालय प्रमुख सई टेकबहादुर कार्कीसहित सबैलाई जिल्ला तान्न आदेश दिए । जबकि, जिल्ला प्रहरीसँग उनले कुनै समन्वय गरेनन् ।त्यसपछि अर्का व्यवसायी राजीव महासेठमार्फत व्यापारीहरुसँग ‘कुरा मिलाउन’ थालियो । यसबारे केही मिडियामा चर्का भयो । त्यसपछि उक्त कार्य जिल्ला प्रहरीको टोलीबाट भएको भन्दै डीआईजी थपलिया आफू जोगिन खोजेका छन् ।वरिष्ठ सई राणाले व्यवसायी महासेठलाई गरेको फोनमा उनले डीआईजीको नाममा सई यादवले रकम लगेको स्वीकार गरेका छन् । डीआईजी थपलिया भन्छन्-यो (अडियो) कसले, कसरी बनायो, मलाई थाहा भएन । जसले बनायो, उनीहरूलाई सोध्नुपर्छ ।




