अहिले सामाजिक सञ्जालमा अभिनेत्री साम्राज्ञी र पूर्व मिस नेपाल शृङ्खला चर्चाको शिखरमा छन् । कारण दुवैको प्रेम सार्वजनिक हुनु रहेको छ ।
“ड्रिम्स” चलचित्रबाट नेपाली चलचित्र जगतमा उदाएकी साम्राज्ञीले त्यसपछिका केही चलचित्रमा राम्रो प्रस्तुती दिएपछि नेपाली दर्शकले उनलाई हाइ–हाइको पडाडको टुप्पोमा पुर्याए । साम्राज्ञीले त्यसपछि पनि केही चलचित्रमा अभिनय गरिन् तर राम्रो र नराम्रो बुझिसकेका बाठा दर्शकले उनको चलचित्रलाई धुलिट्याम बनाइदिए ।
अहिले दर्शकलाई आँखामा छारो हाल्न चलचित्रकर्मीलाई हम्मे हम्मे परेको कुरा धेरै चलचित्र रिलिज भएसँगै ती चलचित्र हलसम्म आएसँगै हराएको कुराले पुष्टि गर्छ ।
नेपाली कलाकार विदेश घुम्न जानु कुनै नौलो कुरा होइन । पहिले नेपाली दर्शकले मानक मानेका कलाकार पनि अक्सर विदेश घुम्न जाने गर्दथे । त्यो समयमा भएको सामाजिक सञ्जालको असुविधाका कारण उनीहरू खासै चर्चामा आउँदैनन् थिए । तर अहिले नव कलाकार भने विदेश घुम्न जाने र चर्चामा आउने एक प्रकारको ट्रेन्ड नै बसिसकेको छ ।
हालै साम्राज्ञीको तस्बिर नेपाली समाजमा चर्चाको केन्द्रमा रहेको छ । बिदा मनाउन इन्डोनेसियाको बालीमा रहेकी साम्राज्ञी र उनका प्रेमी (सञ्जालले भाइरल बनाए अनुसार) देवांश रानाको तस्बिर एकाएक भाइरल भयो । र, उनीहरू दुवै चर्चाको केन्द्रमा रहे । त्यसो त साम्राज्ञी पहिरन र तस्बिरका कारण पनि बजारमा चर्चाको मुख्य थलो नै बनिरहेकी हुन्छिन् । तर चर्चाले उनलाई खासै असर गरेको भने हुँदैन ।
यो पटक भने उनी र उनका प्रेमीबीचको हट तस्बिर सार्वजनिक भएसँगै उनी पुनः चर्चामा आएकी छिन् ।
यता, शृङ्खला खतिवडालाई पनि सामाजिक सञ्जालले राम्रैसँग भाइरल बनाइरहेको छ । नेपालका लागि सन् २०१८ मा मिस नेपाल बनेकी शृङ्खला खतिवडा त्यसपछिको मिस वल्र्डको विभिन्न चरण पार गर्दै उपाधिको नजिक पुगेर ताजलाई परैबाट हेर्दै चित्त बुझाएर स्वदेश फर्किएकी थिइन् । तर त्यहाँ नेपालबाट जाने पूर्व मिस नेपालहरूभन्दा धेरै नै राम्रो प्रस्तुतीका कारण शृङ्खलाको तारिफ नेपालका साथै बाहिर पनि भएको थियो ।
उनलाई सुन्दरताले मात्र हैन कि बौद्धिकताले पनि साथ दिएको छ भन्ने कुरा उनले दिने गरेका अन्तर्वार्ता तथा सेमेस्टर टपका समाचारहरूले पूष्टि गरिसकेको छ ।
सुन्दर कुरासँग सबैको नजर जुध्छ । यो स्वाभाविक नै हो । नेपाली युवाहरूलाई शृङ्खला र साम्राज्ञीजस्ता सुन्दरीहरू कसका बन्लान भन्ने कुराले पनि सताउनु पनि स्वाभाविक हो । जुन कुरा सामाजिक सञ्जालमा क्रस भन्दै पोस्ट गरिएका उनीहरूका तस्बिरहरूले प्रमाणित गरिदिन्छ । अझ शृङ्खलालाई राष्ट्रिय क्रस हुन भन्दा पनि फरक नपर्ला ।
तर यो कुरा केही दिन अगाडिको टर्कीको इस्तानबुलबाट भ्लगर सिसनसँग एउटा फोटो पोस्ट भएसँगै नेपाली युवा मौन भएका देखिन्छन् । नेपाली मिम्स् र ट्रलहरूले शृङ्खलालाई एकाएक भाइरल बनाइदिए ।
राजा होस् वा रैती यहाँ सबैको व्यक्तिगत जीवन हुन्छ । उनीहरूको निजी जिन्दगीमाथि ट्रल बनाउनु भनेको मूर्खताको उच्चतम बिन्दु हो ।
यसरी साम्राज्ञी र शृङ्खलालाई भाइरल बनाइरहँदा उनीहरूको जीवनमाथि गरिएका अनावश्यक प्रश्नहरू बेकार हो भन्ने कुरा पनि प्रस्ट देखिन्छ । साम्राज्ञी र शृङ्खलाले व्यक्तिगत जीवन बाँच्न पाउनुपर्छ । यो अनावश्यक ट्रल बनाइनु समय बर्बादीबाहेक अरु केही पनि होइन ।
सुचना विभाग दर्ता नम्बरः १६५५
प्रेस काउन्सिल दर्ता नम्बर: १९३९




