मधेशका अनलाइन सञ्चार माध्यमलाई १५ दिनभित्र सूचीकृत हुन आह्वान

spot_img

–अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित, मर्यादित र अभिलेखबद्ध गर्ने काउन्सिलको तयारी—

मधेशदूत समाचारदाता—-

धनुषा, असोज ८

मधेश प्रदेशमा सञ्चालित अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित, मर्यादित तथा अभिलेखबद्ध गर्ने उद्देश्यले मिडिया काउन्सिल, मधेश प्रदेशले १५ दिनभित्र सूचीकृत हुन आह्वान गरेको छ।

काउन्सिलले बिहीबार सूचना जारी गर्दै मधेश प्रदेशस्थित आमसञ्चार प्राधिकरणमा दर्ता प्रक्रिया पूरा गरेका तथा नेपाल सरकारअन्तर्गतका सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया पूरा गरी मधेश प्रदेश तथा प्रदेशअन्तर्गतका विभिन्न जिल्लाबाट सञ्चालनमा रहेका अनलाइन सञ्चार माध्यम (अनलाइन न्यूज पोर्टल) लाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काउन्सिलको कार्यालयमा आवश्यक कागजातसहित सूचीकृत हुन आग्रह गरेको हो।

काउन्सिलका अनुसार यसअघि नै मधेश प्रदेशस्थित आमसञ्चार प्राधिकरणमा दर्ता भई मिडिया काउन्सिल, मधेश प्रदेशमा सूचीकृत भइसकेका सञ्चार माध्यमले भने पुनः सूचीकृत हुनुपर्ने छैन।

पछिल्लो समय मधेश प्रदेशमा सञ्चालित केही अनलाइन सञ्चार माध्यमबाट प्रकाशित तथा प्रसारित सञ्चार सामग्रीका सम्बन्धमा काउन्सिलमा उजुरी आउने क्रम बढेपछि अनलाइन सञ्चार माध्यमलाई थप व्यवस्थित, मर्यादित र अभिलेखबद्ध गर्ने उद्देश्यले सूचीकृत गर्ने प्रक्रिया अघि बढाइएको मिडिया काउन्सिल, मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना कुमारी झाले बताउनुभयो।

“अनलाइन सञ्चार माध्यमको संख्या बढ्दै गएको अवस्थामा सञ्चार सामग्रीका सम्बन्धमा काउन्सिलमा उजुरीसमेत आउने क्रम बढेको छ। त्यसैले अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउँदै पत्रकार आचारसंहिताको पालनालाई प्रभावकारी बनाउन सूचीकृत गर्ने प्रक्रिया अघि बढाइएको हो,” अध्यक्ष झाले बताउनुभयो।

उहाँका अनुसार मधेश प्रदेशका आठवटै जिल्लामा सञ्चालनमा रहेका अनलाइन सञ्चार माध्यमको अनुगमन तथा आचारसंहिता पालनाको अवस्थालाई प्रभावकारी बनाउन प्रत्येक जिल्लामा अनुगमन समिति गठन गर्ने सम्बन्धी कार्यविधि पनि अन्तिम चरणमा पुगेको छ।

प्रत्येक जिल्लामा अनुगमन समिति गठन भएपछि सञ्चार माध्यमबाट प्रकाशित सामग्रीको अनुगमन, पत्रकार आचारसंहिताको पालनाको अवस्था पहिचान, देखिएका समस्या तथा गुनासोको सम्बोधन तथा आवश्यक समन्वय र सहकार्यलाई थप व्यवस्थित बनाउने काउन्सिलको उद्देश्य रहेको अध्यक्ष झाले बताउनुभयो।

काउन्सिलले मधेश प्रदेशका सबै सम्बन्धित अनलाइन सञ्चार माध्यमलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित सूचीकृत भई जिम्मेवार, मर्यादित र व्यावसायिक पत्रकारिता प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः