वीरगञ्ज — जिसस पर्साका सभापति अजय सोनारसहित पाँच जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’ मुद्दामा पक्राउ पुर्जी जारी

वीरगञ्ज — पर्सा जिल्लाको राजनीतिक तथा प्रशासनिक वृत्तमा हलचल मच्चाउने एउटा गम्भीर प्रकरण सार्वजनिक भएको छ। जिल्ला समन्वय समिति (जिसस) पर्साका बहालवाला सभापति निरञ्जन प्रसाद सोनार (अजय) सहित एकै परिवारका पाँच जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’ मुद्दामा पक्राउ अनुमति पत्र जारी गरिएको छ।

पर्सा जिल्ला अदालतले मिति २०८३/०१/०७ गते जिल्ला प्रहरी कार्यालय पर्साको नाममा (च.नं. १९४२०) पक्राउ अनुमति पत्र जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिन आदेश दिएको हो। तर अदालतको आदेश जारी भएको चार दिन बितिसक्दा समेत अभियुक्तहरू पक्राउ नपरेको र सहरमै खुलेआम घुमिरहेको आरोप पीडित पक्षले लगाएको छ।

पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू:

अदालतको आदेशअनुसार निम्न व्यक्तिहरूलाई पक्राउ गर्न अनुमति दिइएको छ:

१. अजय भन्ने निरञ्जन प्रसाद सोनार — सभापति, जिसस पर्सा

२. त्रिलोकी साह सोनार — अजयका जेठो दाजु

३. सन्तोष भन्ने सुमु प्रसाद सोनार — भतिज

४. उत्तम भन्ने दिवस सराफ — सन्तोषका जेठो छोरा

५. महेश भन्ने महेश्वर सराफ — अजयका जेठो छोरा

के हो घटनाको पृष्ठभूमि?

राम बाबु साह सोनारको जाहेरीका आधारमा नेपाल सरकार वादी र साहिल कुमार सरार्फ (स्वर्णकार) समेत प्रतिवादी रहेको ‘ज्यान मार्ने उद्योग’ मुद्दाको अनुसन्धानका क्रममा माथि उल्लेखित व्यक्तिहरूको संलग्नता देखिएको अदालतले जनाएको छ।

अदालतले अभियुक्तहरूलाई तत्काल पक्राउ नगरेमा प्रमाण लोप हुन सक्ने, नष्ट गर्न सक्ने वा अभियुक्तहरू फरार हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै प्रहरीलाई तत्काल आवश्यक कारबाही गर्न निर्देशन दिएको छ।

सम्पर्क प्रयास असफल

यस विषयमा प्रतिक्रिया लिन सभापति अजय सोनारको मोबाइल नम्बरमा पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा फोन नउठाइएको वा काटिएको बताइएको छ।

‘पहुँचको आडमा कानुन चुनौती’ — पीडित पक्ष

पीडित मिथुन सरार्फका अनुसार अदालतले केही दिनअघि नै पक्राउ पुर्जी जारी गरिसकेको भए पनि हालसम्म अभियुक्तहरू पक्राउ नपर्नुले राजनीतिक पहुँचको आडमा कानुनलाई चुनौती दिइएको आशंका गरिएको छ।

उनका अनुसार वीरगञ्ज–१५, भेडियाही निवासी मिथुन सरार्फले न्यायका लागि उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा निवेदन दिएका थिए। सोही निवेदनमाथि गत माघ १२ गते परमादेश जारी भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले चैत १९ गते मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।

प्रहरीको भनाइ

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्सासँग बुझ्दा प्रहरीले अभियुक्तहरूको खोजतलास जारी रहेको जनाएको छ। तर हालसम्म पक्राउ हुन नसक्दा पीडित पक्षले ‘कानुनी राज्यको उपहास’ भएको गुनासो गर्दै तत्काल कारबाहीको माग गरेको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः