पटाका सबैभन्दा पहिले कहाँ पड्काइन्थ्यो ? यस्तो छ इतिहास

वीरगञ्ज: संसारका कैयौँ देशमा पटका पड्काएर उत्सव मनाइन्छ। दीपावलीमा कैयौँ देशका विभिन्न स्थानमा रातमा पटकाको उज्यालोले आकाश जगमग हुन्छ।

धेरै विशेष अवसरमा उत्सव मनाउन आतिशबाजी (पटाका) प्रयोग गरिन्छ।

संयुक्त राज्य अमेरिकामा जुलाई ४ मा स्वतन्त्रता दिवसमा देशभर आतिशबाजी प्रदर्शन गरिन्छ। क्यानडाले जुलाई १ मा क्यानडा दिवस मनाउँछ भने फ्रान्सले जुलाई १४ मा बास्टिल दिवस मनाउँछ, त्यसपछि परेड हुन्छ।

चीन र धेरै एसियाली देशमा चन्द्र नयाँ वर्षको समयमा विशेष कार्यक्रम आयोजना गरिन्छन्।  लाखौं पटका पड्काइन्छ। मेक्सिकोमा क्रिसमस पनि आतिशबाजीको साथ मनाइन्छ।

सबभन्दा पहिला कहाँ पड्काइन्थ्यो पटका ?
पटकाको कथाको जरो चीनमा भएको मानिन्छ जहाँ बारुद (गन पाउडर)को खोजको साथमा नै आतसबाजी सुरु भएको थियो।

इतिहासका जानकार डा. टोनियो एन्ड्रेडले आफ्नो पुस्तक ʻद गन पाउडर एजʼमा लेखेका छन्,ʻगन पाउडरको आविष्कार चीनमा भएको थियो। चीनले लगत्तै त्यसलाई सेनाका लागि हतियारका रूपमा यसको उपयोग सुरु गरेको हो।ʼ

पछि यात्रा र व्यापारका माध्यमबाट गन पाउडर भारत, युरोपसमेत अन्य देशमा पुग्यो र यसको उपयोग खास अवसर र चाडहरूमा गर्न थालियो।

पटकाको सुरुआत कहाँबाट भयो ?
ईसा पूर्वको दोस्रो शताब्दीमा चीनमा मानिसहरू बाँसको टुक्रालाई आगोमा हाल्थे। बाँसको भित्रको हावा तातोले फैलिँदा त्यो चर्को आवाजमा पड्किन्थ्यो। मानिसहरू त्यस्तो चर्को आवाजले नराम्रा आत्मा भाग्छन् भन्ने विश्वास राख्थे।

यसको सयौँ वर्षपछि चीनका रसायनविद्ले गल्तीबाट बारुद आविष्कार गरे। बारुदलाई बाँस या कागजको नलीमा भरियो। त्यसलाई परीक्षण गर्दा पहिलो पटक त्यसबाट आवाज र प्रकाश देखियो। त्यहीँबाट आतसबाजीको सुरुवात भयो।

बिस्तारै यो चलन चीनबाट युरोप पुग्यो। समयसँगै नयाँ प्रविधिको सहयोगमा पटका झन् बढी रङ मिसिएको जस्तो, झन् झन् उचाइमा पुग्ने र आवाज ठुलो निकाल्न सक्ने बन्दै गए।

अहिले पटका मनोरञ्जनको साधन मात्र नभएर खासगरी चाडबाड, विवाह र अन्य समारोहको हिस्सा जस्तो बनेको छ।

र अहिले पर्यावरण र स्वास्थ्यको हिसाबबाट सुरक्षित ग्रीन पटाखाको पनि विकास हुँदै छ। यसले मनोरञ्जनसँगै सुरक्षालाई पनि ध्यानमा राखिन्छ।

पटकामा रंग कसरी बनाइन्छन् ?
पटका पड्काउँदा आकाशमा कैयौँ रङ्ग देखिन्छ। यसले त्यसलाई सुन्दर देखाउँछ।

पटकाभित्र विशेष रसायन हुन्छ। जब पटका बल्न थाल्छ तब ती रसायनहरू तातो भएर थरी थरीका रङ्गको प्रकाश निस्कछन्।

सुरुवातमा पटकामा कुनै रङ्ग हुँदैनथ्यो। बारुद जल्दा कुनै रङ्ग बिनाको प्रकाश निस्कन्थ्यो र अँध्यारोलाई उज्यालो बनाइदिन्थ्यो।

१९ औँ शताब्दीमा युरोपका वैज्ञानिकले अलग अलग धातुमा आधारित मिश्रण पटकामा मिलाउने हो भने त्यसले रङ्गिन प्रकाश पैदा गर्ने पत्ता लगाए।

उदाहरणका लागि रातो रङ्ग स्ट्रोन्टिअमबाट, हरियो रङ्ग बेरिअमबाट र सेतो रङ्ग टाइटेनिअम, जिरकोनिअम र म्याग्नेसिअम मिलेर बन्छ।

नीलो रङ्ग बनाउन सबभन्दा कठिन छ। नीलो रङ्ग कपर अर्थात् तामाबाट बन्छ तर धेरै तातो भए रङ्ग उड्छ कम तातोमा रङ्ग नै बन्दैन।

सबभन्दा धेरै पटका कसले किन्छ ?
संसारमा आतसबाजीको सबभन्दा ठुलो खरिदकर्ता वाल्ट डिज्नी कम्पनीलाई मानिन्छ।

डिज्नीले हरेक वर्ष करिब ५ करोड डलर पटकामा खर्च गर्ने बताइन्छ। यसले संसारका धेरै ठाउँमा बनाएको थीम पार्कमा हर रात गरिने आतसबाजीमा यो प्रयोग गर्ने गर्छ।

गिनीज वर्ल्ड रेकर्ड्सका अनुसार अहिलेसम्मको सबभन्दा ठुलो आतसबाजी प्रदर्शन २०१६ मा नयाँ वर्षको स्वागतक्रममा फिलिपिन्सको चर्च अफ क्राइस्टमा भएको थियो।

त्यसबेला एक घण्टाभन्दा केही ज्यादा समयमा कुल ८,१०,९०४ वटा पटका छोडिएको बताइन्छ।

आश्चर्यजनकरूपमा पूरै प्रदर्शनको दौरान लगातार पानी परिरह्यो तर आतसबाजी रोकिएन बरु निकै शानदार देखियो।

हरित पटका
हरित पटका देख्न, जलाउन र आवाजको मामलामा सामान्य पटका जस्तो लाग्छ तर यसबाट कम प्रदूषण हुन्छ।

सामान्य पटाखाका तुलनामा यसलाई बाल्दा करिब ४० देखि ५० प्रतिशतसम्म कम हानिकारक ग्यास निस्कन्छ।

नेशनल इन्भार्नमेन्टल इन्जिनियरिङ रिसर्च इन्स्टिट्यूट (नीरी)की मुख्य वैज्ञानिक डा. साधना रायलू भन्छिन्, ʻग्रीन पटकाबाट पनि हानिकारक ग्यास निस्कन्छ। तर यसबाट निस्कने प्रदूषणको स्तर पारम्परिक पटकाको तुलनामा कम हुन्छ।ʼ

उनका अनुसार सामान्य पटका जल्दा नाइट्रोजन र सल्फर जस्ता ग्यास ठुलो मात्रामा निस्कन्छ। हरित पटाकामा यी हानिकारक तत्त्वको मात्रा कम हुन्छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः