ठगी मुद्दा लागेका नापी अधिकृत कार्यालयमा हाजिर भए

 

  • ठगी आरोपमा फरार रहेका नापी प्रमुख सञ्जय साह कार्यालयमा हाजिर भएका छन्।
  • साहले पीडितको रकम फिर्ता गरेपछि मुद्दा मिलापत्र भएको छ।
  • प्रहरीले साहविरुद्ध ठगीको अनुसन्धान अघि बढाएको छ।

रौतहट — ठगी आरोपमा जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेपछि फरार काठमाडौँस्थित नापी कार्यालय डिल्लीबजार अन्तर्गतको टोखा टोली प्रमुख सञ्जय साह कार्यालयमा हाजिर भएका छन् । पीडितको पैसा फिर्ता गरेपछि उनी आइतबारदेखि कार्यालयमा हाजिर भएका हुन् ।

गरुडा नगरपालिका–६ पोठियाहीका सन्तोषकुमार चौधरीले जग्गासम्बन्धी कारोबारमा रकम ठगी गरेको आरोपमा नापी प्रमुख साहविरुद्ध जाहेरी दर्ता गराएका थिए । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका साह तीन सातापछि कार्यालयमा हाजिर भएका हुन् । काठमाडौँबाट रौतहट आएर पीडितको रकम फिर्ता गरेपछि साह लगायतसँगको मुद्दा मिलापत्र भएको थियो ।

पीडितको रकम ठगी गरेको आरोप लागेका काठमाडौँका धिरज श्रेष्ठ र नापी प्रमुख साहलगायतले रौतहट जिल्ला न्यायाधिवक्ताको कार्यालय गौरमा साउन ८ गते पुगेर रकम तिरेको कागज पेस गरेपछि मुद्दा मिलापत्र भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

जेठको अन्तिम साता बिदामा बसेका साह असार १५ गते बिदा सकिए पनि पक्राउ पर्ने डरले कार्यालयमा हाजिर भएका थिएनन् । नापी कार्यालय डिल्लीबजारका अधिकृत प्रकाश ओलीले टोखा नापी प्रमुख साह कार्यालयमा हाजिर भएको पुष्टि गरे ।

जग्गा बैना गरेर खरिद–बिक्रीमा टोखा नापी प्रमुख साहसहितका मानिसहरू संलग्न भएपछि गरुडा प्रहरीले ठगी मुद्दा दर्ता गरी अदालतबाट जेठ १३ गते पक्राउ पुर्जी लिएको थियो । पीडित सन्तोषले जग्गा खरिद गर्न १ करोड १० लाख रुपैयाँ जम्मा गरेको प्रमाण प्रहरीसमक्ष पेस गरेका थिए ।

जग्गा खरिद–बिक्रीमा बदनियत देखिएकाले साहविरुद्ध प्रहरीले ठगीमा अनुसन्धान अघि बढाएको थियो । पक्राउ गर्नका लागि प्रमुख साह कार्यरत नापी कार्यालय डिल्लीबजारमै पत्र पठाएपछि उनी लुकेका थिए । प्रहरी महानिरीक्षक दीपक थापाले समेत साहलाई पक्राउ गर्न चासो देखाएका थिए ।

काठमाडौँको नागार्जुन–४ की विमलादेवी श्रेष्ठको सर्लाही हरिपुर नगरपालिका–७ मा रहेको कित्ता नं. ७७३ को ११ कट्ठा १४ धुर जमिन नापी प्रमुख साह र सन्तोषले संयुक्त लगानीमा खरिद गर्ने सहमति भएको थियो । सुरुमा सन्तोषले १ करोड १० लाख रुपैयाँ बैना दिएका थिए । रजिस्ट्रेसन पास गराउन पैसा अपुग भएपछि प्रमुख साहले लगानी गरी आफ्नो नाममा जग्गा ल्याएका थिए ।

सन्तोषका अनुसार २ करोड मूल्यमा उक्त जमिन किनबेच भएको थियो । तर, साहले साझेदार भनिएका सन्तोषलाई जानकारी नदिई ०८०/०८१ मा चार कित्ता बनाई चार जनालाई बिक्री गरेपछि ठगीको आरोपमा प्रहरीमा जाहेरी परेको हो ।

प्रहरीले जग्गाधनी विमला श्रेष्ठको मृत्यु भइसकेको जानकारी पाएपछि उनका छोरा धिरजलाई पक्राउ गरी हाजिर जमानीमा छाडेको थियो । प्रमुख साहले धिरजमार्फत पैसा फिर्ता गरेका हुन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः