वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–१६, नगवामा ब्रहम बाबा सञ्चालक सेवा समिति नगवा र बिपी कोइराला युवा नेतृत्व विकास मञ्चको संयुक्त आयोजनामा घोडा दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा भारत, बिहार कोतवाका मनोज यादव प्रथम स्थान हासिल गर्दै विजेता बने। मोतिहारीका सोनु यादव दोस्रो तथा वीरगञ्ज छपकैयाका बिचारी यादव तेस्रो भए। तीन चरणमा सम्पन्न उक्त दौड प्रतियोगितामा नेपाल र भारतका २० भन्दा बढी घोडाहरूको सहभागिता रहेको थियो। विजेताहरूलाई शिल्ड तथा विभिन्न इलेक्ट्रोनिक सामग्री पुरस्कारस्वरूप प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका अध्यक्ष प्रभु चौरसियाले गरेका थिए। प्रमुख अतिथिका रूपमा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा नेपाली कांग्रेस पर्साका अध्यक्ष जनार्दन सिंह क्षेत्री उपस्थित थिए। विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका अध्यक्ष अजय सराफ र वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम सहभागी थिए।
उपमेयर आलमले यस्ता लोपोन्मुख परम्परागत खेलहरूबाट सीमावर्ती क्षेत्र, नयाँ पुस्ता तथा विदेशी पर्यटक आकर्षित हुने उल्लेख गर्दै आगामी दिनमा प्रतियोगितालाई थप भव्य र व्यवस्थित बनाउने प्रतिबद्धता जनाए। साथै, भारतबाट आएका सहभागी घोडचढीहरूलाई धन्यवाद दिँदै वीरगन्ज महानगरपालिकाबाट पूर्ण सहयोग रहने बताए।
स्थानीय बासिन्दाको बाक्लो उपस्थिति र उत्साहपूर्ण सहभागिताले प्रतियोगितालाई झनै रोमाञ्चक बनाएको थियो। आयोजनाले सीमा पार सांस्कृतिक सम्बन्ध सुदृढ गर्नुका साथै परम्परागत खेल संरक्षणतर्फ महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ।




