क्षयरोगको जोखिम बढ्ने खतरा

प्रत्येक वर्ष २४ मार्चका दिन विश्व क्षयरोग दिवस विश्वभर मनाइन्छ । विश्वका धेरै मुलुकले यो रोगलाई न्यून पार्न सफल भएका कारण विजय–उत्सव मनाउने प्रचलन बसाइएको हो ।

नेपालले भने अहिलेसम्म आशातीत सफलता हासिल गर्न सकेको छैन । राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकअनुसार सन् २०१५ देखि २०२५ सम्म क्षयरोगका बिरामी घटाउन गरेको प्रयास सन्तोषजनक देखिँदैन । उक्त १० वर्षको अवधिमा नेपालले मात्र १५ प्रतिशत रोग नियन्त्रण गरेको देखिन्छ । पछिल्लो तथ्यांक हेर्दा नेपालमा हरेक वर्ष ६८ हजार ५ सयको हाराहारीमा नयाँ क्षयरोगी थपिने गर्छन्, जसमध्ये ३० हजार व्यक्तिले उपचार नै गराउँदैनन् । यति बेला मुलुकभर क्षयरोगको उपचार गर्ने स्वास्थ्य संस्थाको संख्या ६ हजार २ सय ४१ रहे पनि निःशुल्क औषधोपचारको व्यवस्था आठ सयवटाले गर्न सकेका छन् । यसरी निःशुल्क उपचार सेवाको व्यवस्था न्यून हुनुले पनि रोग नियन्त्रणमा कठिनाइ पुगेको हो ।

त्यसमाथि क्षयरोग नियन्त्रणका लागि सरकारले बर्सेनि छुट्याउने गरेको १ अर्ब २० करोड रुपैयाँ पनि अपर्याप्त रहेको देखिन्छ । सरकारले सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा मुलुकलाई क्षयरोगमुक्त गराउने अभियान पनि थालेको छ । तथापि विज्ञहरूले उपचार नगराउने व्यक्तिका कारण क्षयरोग एकआपसमा फैलिएर यसले महामारीको रूप लिन सक्नेतर्फ सचेत रहन पनि आग्रह गरेका छन् ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः