
वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ स्थित श्री नवगाँवा माद्यामिक विद्यालय चारगाँहाको विद्यालय भवन भत्किएको छ । सरस्वती पूजाको दिन सोमवार राति एक्कासी भवन भत्किएको हो ।
विद्यालयका प्रधानाध्यापक गगनदेव यादवकाअनुसार विद्यालयको भवन एक दशक भन्दा लामो समयदेखि जीर्ण अवस्थामा थियो । जीर्ण अवस्थामा रहेको विद्यालयको भवनलाई भण्डारण कक्ष (स्टोर) बनाएर विद्यालयका सामग्रीहरु राखिएको प्रधानाध्यापक यादवले बताए । करिब तीन दशक भन्दा अघि निर्मित उक्त भवनको पुर्ननिर्माण नगर्दा जीर्ण भएर भत्किएको प्रधानाध्यापक यादवको भनाई छ ।
सरस्वती पूजाको दिन २१ गते दिनभरी शिक्षक र विद्यार्थी विद्यालयमै व्यस्त थिए । राति ८ बजेपछि शिक्षक र विद्यार्थीहरु घर फर्किएपनि मुर्तीसँगै बस्ने संस्कृतिअनुरुप केही विद्यार्थीहरु मुर्तीसँगै विद्यालयमै बसेका थिए । ७/८ जना विद्यार्थीहरु भत्किएको भवनभन्दा एकसय मीटर उत्तरतर्फ रहेको अर्काे भवनमा सुतेका थिए । बिहान करिब ४ बजेतिर ठूलो आवाज सुनेपछि मुर्तीलाई केही भयो कि भनेर बाहिर आएर हेर्दा भवन भत्किएको विद्यार्थीहरुलाई उद्धृत गर्दै प्रधानाध्यापक यादवले यात्राडेलीसँग बताए ।




