वीरगन्ज, पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा एक महिने साउने मेला सकिएपछि मंगलबार बिहान ट्रयाक्टरबाट खसेका एक युवककाे त्यहि ट्रयाक्टरले किचिएर मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही टोल निवासी अजय रामका छाेरा करिब १७ वर्षीय आकाश राम रहेका छन्।
भाथा धाममा लागेकाे एक महिने साउने मेला समापन भएपछि मंगलबार बिहान मेलामा थापिएकने पसलकाे सामान लिन जाँदै गरेकाे ट्रयाक्टरबाट खसेका रामकाे त्यहि ट्रयाक्टरले किचिएर मृत्युु भएको हो।
प्रहरीका अनुसार ट्याक्टरमा चालक र मृतक ती युवक गरी दुई जना मात्रै सवार थिए। उनीहरू नाताले काका–भतिजा रहेको बताइएको छ।
ट्याक्टर चारभैया पोस्टबाट करिब दुई किलोमिटरभित्र पुगेपछि ती यसवक ट्रयाक्टरबाट तल खसेका थिए। त्यसै क्रममा ट्रयाक्टरको चक्कामुनि परी किचिदा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।युवक ट्रयाक्टरबाट खसेपछि त्यसका चालक ट्रयाक्टर लिएर फरार भएका छन्।
उक्त घटना बिहान करिब ७ बजे भएको बताइएको छ। बाटोमा रगत देखेपछि भाथाधामतर्फ जाँदै गरेका श्रद्धालुले घटनाबारे नेपाली सेनालाई जानकारी गराएका थिए। त्यसपछि मेला व्यवस्थापन समितिका अध्यक्ष अल्खदेव चौधरी घटनास्थलमा पुग्दा ती युवक मृत अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी निरीक्षक अधिकारीका अनुसार प्रारम्भिक विवरणमा ट्रयाक्टरमा चालक र मृतक किशोर गरी दुई जना सवार रहेको खुलेको छ। युवक ट्रयाक्टरबाट तल खसेपछि चक्काले किचेर उनको मृत्यु भएको देखिएको उनले बताए।
प्रहरीले शव पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ।ट्रयाक्टरसहित फरार रहेका चालककाे खाेजी भइरहेको प्रहरीले जनाएको छ।






