वीरगञ्ज, ०६ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ कि तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको घटनाप्रति गृहमन्त्री सुदन गुरुङले गम्भीर चासो व्यक्त गर्दै सरकार निष्पक्ष अनुसन्धानमा जुटिरहेको स्पष्ट पारेका छन्।
मन्त्री गुरुङले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै सानी छोरीमाथि भएको यो अपराधले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको उल्लेख गरेका छन्।
बालिका गुमाउनुपर्दाको पीडा सम्पूर्ण समाजको भएको भन्दै उनले आमाहरू, महिलाहरू र आम नागरिकमा देखिएको आक्रोशलाई सरकारले पूर्ण रूपमा महसुस गरेको बताएका छन्।
गृह प्रशासन घटनाको पहिलो दिनदेखि नै सक्रिय रहेको र विगतका अनुभव तथा कमजोरीबाट पाठ सिक्दै अनुसन्धानलाई अघि बढाइएको उनको भनाइ छ। मन्त्री गुरुङका अनुसार आरोपितहरूलाई तत्कालै पक्राउ गरी अनुसन्धान जारी राखिएको छ भने प्रारम्भिक चरणमा प्रहरीबाट भएको भनिएको लापरबाहीबारे समेत छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको छ।
यसैगरी, पीडित परिवारको थप जाहेरीका आधारमा अन्य चार जनालाई पक्राउ गरी सोधपुछ भइरहेको जानकारी दिँदै उनले नागरिकको आक्रोश स्वभाविक भए पनि नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताका कारण तत्काल मृत्युदण्ड दिने कानुनी अवस्था नरहेको स्पष्ट पारेका छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले बालबालिका तथा महिलाविरुद्ध हुने यस्ता अपराधमा कानुनी बाधा हटाउन आवश्यक संशोधनको मस्यौदा तयार गरी संसदीय प्रक्रियामा लैजाने तयारी गरिरहेको समेत गृहमन्त्रीले उल्लेख गरेका छन्। घटनालाई राजनीतिकरण वा अपुष्ट सूचनाका आधारमा मिडिया ट्रायल नगर्न आग्रह गर्दै उनले आक्रोशलाई न्यायको शक्तिमा बदल्न र अनुसन्धान प्रक्रियालाई सघाउन सबै नागरिकसँग अपिल गरेका छन्।






