संकटपछि सहयोग : वीरगंज महानगरलाई विभिन्न संघ–संस्थाद्वारा सहयोग

वीरगंज । गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण वीरगंज महानगरपालिकाको भवन र कार्यालय सामग्री पूर्ण रूपमा नष्ट भएपछि पुनः सञ्चालनमा सहजता ल्याउन विभिन्न संघ–संस्था, उद्योग–व्यवसायिक घराना तथा सामाजिक संगठनहरूले सहयोगका हात अघि बढाएका छन् ।कार्यालय जलेर नष्ट भएपछि महानगरका दैनिक प्रशासनिक कार्यमा निकै समस्या आएको थियो । तर पछिल्ला दिनमा प्राप्त सहयोगहरूले पुनःसञ्चालनमा नयाँ ऊर्जा र उत्साह थपेको छ ।सामाजिक उत्तरदायित्वअन्तर्गत आज एन.पी.एल. सामाज कल्याण संस्थाले महानगरलाई सात थान कम्प्युटर डेस्कटप र तीन थान प्रिन्टर सहयोगस्वरूप उपलब्ध गराएको छ ।

वीरगंजस्थित महानगर कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका निर्देशक अरविन्द अमात्यले सामग्री हस्तान्तरण गर्दै नगरवासीका लागि हुने सेवामा सहजता ल्याउन सहयोग गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

त्यसैगरी, ब्रिटानिया नेपाल प्रा.लि.ले पनि आजै महानगरका लागि २० थान अफिस कुर्सी प्रदान गरेको छ । यसअघि पनि सूर्य नेपाल प्रा.लि.ले ल्यापटप, कम्प्युटर र प्रिन्टर सहयोग गरिसकेको छ भने औषधि उत्पादक संघ, वीरगंज इकाईले समेत कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय सामग्री उपलब्ध गराएको थियो ।

महानगरले प्राप्त यस्ता सहयोगहरूले कार्यालय सञ्चालन सहज बनाउनुका साथै कर्मचारीहरूमा मनोबल वृद्धि गरेको बताएको छ ।

महानगर प्रमुख राजेशमान सिंहले कठिन समयमा साथ र सहयोग गर्ने सबै संघ–संस्था र उद्यमी समुदायप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो । यस्तो कठिन घडीमा साथ र सहयोगका हात अघि बढाउनु हामी सबैका लागि हौसला दिने काम हो । यसले महानगरलाई फेरि उठ्न प्रेरणा दिएको छ ।’

उहाँका अनुसार, प्राप्त सहयोगका सामग्रीहरू प्राथमिक रूपमा प्रशासनिक कार्य सञ्चालनका लागि प्रयोग गरिने छ । महानगरले आगामी दिनमा अन्य आवश्यक सामग्रीका लागि पनि निजी क्षेत्र र दातृ निकायसँग सहकार्य गर्ने जनाएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः