
काठमाडौं – एसियाली विकास बैंक (एडीबी)ले नेपालमा विभिन्न पूर्वाधार परियोजना र विकास कार्यक्रमका लागि थप एक खर्ब पाँच अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
६ अर्ब ५२ करोड रुपैयाँ अनुदान र बाँकी सहुलियतपूर्ण ऋण लिनेगरी अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरेका हुन् ।
एडीबीबाट प्राप्त आर्थिक सहायताबाट सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजना, समावेशी विकास कार्यक्रम, काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग विद्युत प्रसारण र वितरण सुदृढीकरण परियोजना अघि बढाइने अर्थ मन्त्रालय जानकारी दिएको छ ।
अर्थसचिव घिमिरेले नेपालको सामाजिक आर्थिक विकासमा एडीबीबाट प्राप्त सहयोग निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै आयोजनालाई समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अपेक्षित नतिजा सुनिश्चित गर्न सम्बन्धित निकायलाइ आग्रह गरे ।
एडीबीका देशीय निर्देशक आर्नो कोश्वाले नेपालको कृषि, प्राकृतिक स्रोत, ग्रामीण विकास, ऊर्जा, सार्वजनिक क्षेत्र व्यवस्थापन, खानेपानी, एवं सहरी पूर्वाधार निर्माणमा एडीबीको निरन्तर सहयोग हुने बताए ।




